
- नमोबुद्ध संवाददाता
बौद्ध–विनय दोङ निर्देशित तामाङ चलचित्र ‘टुहुरोला ल्हुई’ तेमाल जात्राको अवसरमा यहि वैशाख ५ गते बौद्धको सिदार्थ हलमा प्रदर्शन गरिदैछ ।
बौद्ध तामाङ कल्याण गुठीको सहकार्यमा बिहान ९ बजे र बेलुका ५ बजे गरी एकै दिन दुई सो च्यारिटी गर्न लागेको फिल्मका कथा समेत लेखेका निर्देशक दोङले जानकारी दिनुभयो ।
उहाँका अनुसार ऋतुराज पाख्रिनको पटकथा तथा संवाद,सागर दोङको प्रस्तुतीको रुपमा रहेको यस चलचित्र तामाङ असहाय टुहुरो बाबालिकाको अवस्था र उनिहरुको क्षमतामाथि केन्द्रित रहेको छ ।
तामाङ जनजीवनलाई नजिकबाट उधिनेको हुनाले तामाङ दर्शकलाईनै लक्षित गरी बौद्ध र स्वयम्भुमा लाग्ने तेमाल जात्राका बेला यो चलचित्र प्रदर्शन गर्न लागेको निर्देशक दोङले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो–“यहि वैशाख ५ र ६ गते पर्ने तेमाल जात्रा भर्न काभ्रे,काठमाण्डौं उपत्यका,सिन्धुपाल्चोक,सिन्धुली,रामेछाप,दोलखा,मकवानपुर सम्मका लाखौं तामाङ दाजुभाई दिदीबहिनी,आमाबुबाहरु आउँदैहुनुहुन्छ्,यहि छेकोमा बौद्ध तामाङ कल्याण गुठीसँग सहकार्य गरी ‘टुहुरोला ल्हुई’ प्रदर्शनको तयारी भएको हो ।”
ज्ञानु राईले खिच्नुभएको चलचित्रको सम्पादन पाका चलचित्रकर्मी संजय बलले गर्नुभएको छ । यस चलचित्रका लागि जेनिश दोङ,डुप्साङ लामा र हस्त लामाले लेखेका गीतहरुमा जोगलाल लामाले संगीत भर्नुभएको छ ।
बुद्ध लामाको कोरियोग्राफी र सोनाम तामाङको द्धन्द रहेको यस तामाङ चलचित्रले दर्शकको माया पाउनेमा निर्माण टोली विश्वस्त देखिन्छ ।
रोशी फिल्म्स प्रालिको व्यानरमा छ्युमी लामा र म्हारसाङ घिसिङको निर्माणमा तयार भएको यस चलचित्रमा चर्चित नायिका रोशनी ब्लोन,नायक बुद्ध थिङ,खलनायक राजु वाईबा(झक्कास),रोशन लामा,शंखबहादुर तामाङ(जुंगे)लगायतको मुख्य अभिनय देख्न सकिन्छ ।
सेम्ला माया,धिमनाम,मायाला म्हेन्दो जस्ता चर्चिच चलचित्र निर्देशन गरिसक्नुभएका दोङको यो पछिल्लो चलचित्र हो ।
तामाङ समुदाय र यि समुदायका टुहुरो असहाय बालबालिकालई सामाजिक मनोविज्ञानले कमजोर रुपमा हेरिएपनि अन्ततः उनिहरु आफ्ना क्षमतामा अब्बल हुन्छन् भन्ने सन्देश बोकेको यो चलचित्र एक महिना अगाडी राष्ट्रिय नाचघर जमलमा पहिलो प्रदर्शन गरिएको थियो ।