
- नमोबुद्ध संवाददाता
महांकाल भुग्देउ–काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका स्थानियले गाउँपालिकाले आफूहरुको भावना नबुझेको गुनासो गरेका छन् । विकास निर्माणका योजना निर्माण,कार्यन्वयन र विभिन्न अवसरहरुमा आसेपासेलाई मात्रै पोस्ने काम गरेको आरोप उनिहरुको छ ।
मनमोहन सरकारको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमबाट सुरु भएको कहि कामहरुबाट गाउँमा केहि आश गर्न सकिने बाटो खुलेको तर अहिले सिहंदरबारको अधिकार गाउँमा आएको बेलाभने केहि नभएको उनिहरुको भनाई छ ।
नेपाली काँग्रेस नेतृत्वको गाउँपालिकामा आर्थिक अनियमितता र चलखेल व्यापक रहेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको उनिहरुको स्पष्टोक्ती छ ।
स्थानियको यो गुनासोकैबिच नेकपा वेथानचोक गाउँपालिका कमिटिले मंगलबार गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा उर्लिएका हजारौं स्थानियमाझ अगुवा मर्दन सिं लामा(पेमा) ले भन्नुभयो–“बेथानचोक गाउँपालिकाको कार्यालयले तथा तिनको नेतृत्वले जुन जात्रा देखाईरहेको छ,काँग्रेसले दादागिरी चलाईरहेको छ,यिनको भण्डाफोरको वर्ष हो २०७६”
प्रदेश तथा संघबाट विनियोजित बजेट कार्यन्वयनका लागि संयौं स्थानियको भेलाबाट बनेको उपभोक्ता समितिलाई नमान्ने तर कोठामा बसेर दुई चार जना काँग्रेसका आसेपासेलाई सुम्पिने गर्दा हुनै लागेका विकास निर्माणका कामहरु समेत ठप्प रहेको उहाँको भनाई छ ।
गाउँपालिकाको वेथितिप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो–“नामै नसुनिएको काँग्रेसको रेडियोको नाममा सिधै ३० लाखको चेक काटेको छ, यो कस्तो विधि र प्रक्रिया हो गाउँपालिका अध्यक्ष ज्यु ? फेरि पनि यो वर्ष २० लाख बजेट तिनै रेडियोको नाममा झ्वाम पार्न लागेको सुनेका छौं खबरदार !” उहाँले गाउँमा खानेपानी,शिक्षा,बाटो,पर्यटन,कृषि,जस्ता क्षेत्रमा महत्वपूर्ण पुर्वाधारहरुको विकास आवश्यक रहेको र अब यसको नेतृत्व नेकपाले गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्का व्यक्तित्व सुदर्शन थापाले वेथानचोकबासीले अर्को पटक त्यस्ता नेतृत्वलाई अस्वीकार गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि पूर्वराज्यमन्त्री सुर्यमान दोङ(लालध्वज),संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज),पूर्व संविधानसभा सदस्य(सभासद) रामहरि सुवेदी,प्रदेश सांसद चन्द्र लामा र बसुन्धरा हुमागाई,नेता कुमार थापाले अब काँग्रेस बेथाचोकबाट पनि बडारिने बताउनुभयो ।
यि बाम नेताहरुको एउटै भनाई छ–“अरु ठाउँमा जहाँ जहाँ नेकपाले जिते,तिनले जनताकै सहभागितामा विकास निर्माण गरिरहेका छन् तर एकाध एक दुई ठाउँमा जितेर पनि अहम्ता बोकेर मनपरी गर्दै हिड्ने काँग्रेस पत्तासाप हुन धेरै समय लाग्दैन,उनिहरुका प्रतिनिधिले चलाईरहेको स्थानिय तह,तिनका नेतृत्वलाई अख्तियारले तानिसकेको छ ।”
पूर्वराज्यमन्त्री लालध्वजले विकास निर्माणमा बाधक बन्ने काँग्रेस र बिप्लब माओवादीलाई जनतालेनै ठेगान लगाउने बताउनुभयो । उहाँले भन्नुभयो–“गणतन्त्र ल्याईसक्यौं,धर्मनिरपेक्ष राज्य र संघीयता प्राप्त गरिसक्यौं , हिजो यहि चिज प्राप्त गर्न बन्दुक उठाएकौ थियौं,यहाँहरुकै काखमा बसेर हामी हुर्कियौं,लडयौं र यो उपलब्धी हाँसील गर्यौं, यो ठाउँमा बिप्लबले संगठन बनायोरे भन्ने गाँइगुई सुनियो, आखिर केका लागि ? यस्तै पारा हो भने जनभावनाको कदर नगर्ने बिप्लब र काँग्रेस आफैं सकिन्छन् ।”
प्रदेश सांसद चन्द्र लामाले भन्नुभयो–“हामी त जनताको एक–एक मतको सम्मान गर्छौं,मेरो ध्यान यहि ठाउँ हुदै जाने पारीको ७ वटा वडा पनि जानुपर्छ, जुन डाँडापारी जोड्ने तालढुंगा सडक हो, यो हाम्रै पालामा पिच गर्ने योजना छ, पुरा गरेरै छाड्ने हो । तपाईहरुले हेर्न सक्नुहुन्छ,बुझ्न सक्नुहुन्छ,बाटो निर्माण,शैक्षिक विकासमा हामीनै छौं, पनौती हुदै तावारी,भुग्देउ लगायत यिनै क्षेत्रको सडक विकासले पनि अब फड्को मार्दैछ । अब कुरा रह्यो खानेपानीको ,यसमा पनि बजेट के कत्ति गर्न सकिन्छ यहाँका अगुवाहरुसँग बसेर छिट्टै टुंगो लगाउँला ।”
उहाँले कामीडाँडामा खेलमैदान निर्माण,वेथचानचोकका केहि ठाउँमा चियाको पकेट क्षेत्रकै रुपमा चिया वगान बसाउने तयारी भईरहेको जानकारी दिनुभयो ।
आफूहरु गाउँपालिकासँग समन्वयात्मक ढंगले अघि बढ्न तयार रहेपनि गाउँपालिका नेतृत्वले सहि व्यवहार नदेखाएको संघीय सांसद बमध्वजको भनाई छ । उहाँले भन्नुभयो–“हामी जनपक्षमै काम गर्दै जान्छौं,गाउँपालिकाको नेतृत्वले अरुको अस्तीत्वलाई अस्वीकार गर्छ भने परिणम राम्रो हुदैन,अब ३ वर्ष हो काँग्रेसको मनपरी,खबरदारी गर्न नरोकौं,काँग्रेस आफैं सकिन्छ ।”
प्रदेश सांसद बसुन्धरा हुमागाईले पनि गाउँपालिका र तिनको नेतृत्वको रवैया ठिक नरहेको बताउनुभयो ।
बेथानचोकको विभिन्न गाउँबस्तीबाट शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा आएका स्थानियलाई कलाकारहरु सञ्जीव वाईबा,जितु लोप्चन,राजा राजेन्द्र पोखरेल,उर्मिला लामा,प्रिया थोकर,सिबु तामाङ लगायतले आ–आफ्ना प्रस्तुतीमार्फत मनोरञ्जन दिलाउनुभयो । स्थानिय कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा स्थानियको भावना र मागलाई सम्बोधन गराउने गरी नेकपाका कुमार तिमल्सीनाले संघीय र प्रदेश संसादहरुलाई लिखित माग पत्र हस्तान्तरण गर्नुभयो । बेथानचोकलाई नमुना बनाउने योजना नेकपा बेथानचोक कमिटिको रहेको उल्लेख गर्दै उहाँले यसमा साथ दिन नेकपा नेता र सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
मागपत्रप्रति पूर्वराज्यमन्त्री लालध्वज संघीय सांसद बमध्वज,पूर्व संविधानसभा सदस्य(सभासद) रामहरि सुवेदी,प्रदेश सांसद द्धय लामा र हुमागाई,नेता कुमार थापाले जनताको अपेक्षा तथा सपनालाई शीरमा राखि समृद्ध नेपाल,सुखी नेपालीको परिकल्पनाअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।