नमोबुद्ध संवाददाता
महांकाल भुग्देउ–सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाम सरकारको पालमा विकासले गति लिने बताउनुभएको छ ।
नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नेकपा बेथानचोकद्धारा मंगलबार काभ्रेको महांकाल भुग्देउमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“मौसम खरावीले प्रत्यक्ष उपस्थित हुन सकिन,माफी चहान्छु,मैले तपाईहरुको समस्या बुझेको छु,चिन्ता लिनुपर्ने केहि छैन,अब विकासले गति लिन्छ ।”
उहाँको सचिवालयका अनुसार काम विशेषले राजधानी बाहिर जानुभएका मन्त्री बाँँस्कोटा आफ्नो गृह जिल्लाको कार्यक्रममा आउने समय मौसम खरावीका कारण भैरहवा विमानस्थलमै रोकिनुपरेपछि उहाँले टेलिफोनमार्फत नै औपचारिक सम्बोधन गर्नुभएको हो ।
टेलिफोन सम्बोधनमा मन्त्री बाँस्कोटाले भन्नुभयो–“अझै हामीसँग साँढे ३ वर्ष छ,यो बिचमा हामीले धेरै काम गर्न सक्छौं,यो पटकको भर्ना अभियान पनि सुरु हुदैछ,शैक्षिक पहुंचमा सबै बालबालिकालाई जोड्ने योजना सरकारले ल्याउँदैछ,विदेशबाट फर्केका र यतै रहेका युवालाई पनि स्वरोजगार कार्यक्रम ल्याएका छौं,वृद्धवृद्धा आमाबुबाहरु पटक्कै निराश हुनुपर्दैन,यो पटक वृद्धभत्ता बढाउँछौं ।”
बाह्रै महिना बगिरहने काभ्रेको ईन्द्रावती र सुनकोशीबाट सिंगो देशलेनै फाईदा लिन सक्ने भन्दै उहाँले करिब ८ सय मेघावाटको सुनकोशी परियोजना अघि बढिसकेको जानकारी दिनुभयो ।
भर्खरै लगानी सम्मेलन सकेको जानकारी दिनुहुदै उहाँले भन्नुभयो–“विभिन्न योजनाका लागि करिव ३० खर्बको कुरा उठाएका छौं, सुनकोशी परियोजनामा पनि चासो बढेको छ, हामीले लगानीकर्ता भित्र्याउन यसलाई पनि सोकेसमा राखेका छौं ।”
पाँचखालको सेज निर्माण,तेमालको खानेपानी योजना,बेथानचोक तथा डाँडापारी क्षेत्रको सडक एवम् पर्यटन विकासका लागि आफू सदैव लागिनै रहेको उहाँको भनाई छ ।
मन्त्री बाँस्कोटा आउने अपेक्षामा रहेका हजारौं स्थानिय कार्यक्रमको अन्त्यतिर उहाँ नआईपुग्ने खबर पाएपछि उहाँले गरेको टेलिफोन सम्बोधन सुन्न स्पीकर वरपरि झुम्मिए ।
बेथानचोकको विभिन्न गाउँबस्तीबाट शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा आएका स्थानियलाई कलाकारहरु सञ्जीव वाईबा,जितु लोप्चन,राजा राजेन्द्र पोखरेल,उर्मिला लामा,प्रिया थोकर,सिबु तामाङ लगायतले आ–आफ्ना प्रस्तुतीमार्फत मनोरञ्जन दिलाउनुभयो । स्थानिय कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा स्थानियको भावना र मागलाई सम्बोधन गराउने गरी नेकपाका कुमार तिमल्सीनाले संघीय र प्रदेश संसादहरुलाई लिखित माग पत्र हस्तान्तरण गर्नुभयो । बेथानचोकलाई नुमना बनाउने योजना नेकपा बेथानचोक कमिटिको रहेको उल्लेख गर्दै उहाँले यसमा साथ दिन नेकपा नेता र सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
मागपत्रप्रति ध्यानाकर्षण जनाउँदै पूर्वराज्यमन्त्री सुर्यमान दोङ(लालध्वज),संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज),पूर्व संविधानसभा सदस्य(सभासद) रामहरि सुवेदी,प्रदेश सांसद द्धय चन्द्र लामा र बसुन्धरा हुमागाई,नेता कुमार थापाले जनताको अपेक्षा तथा सपनालाई शीरमा राखि समृद्ध नेपाल,सुखी नेपालीको परिकल्पनाअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्रीको टेलिफोन सम्वोधन