• नमोबुद्ध संवाददाता

भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा ३ दिने ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ भव्यताका साथ आईतबार सम्पन्न भएको छ ।

‘हाम्रो कला हाम्रो पन,तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ चलचित्र संघको आयोजनामा सुरु भएको महोत्सव ‘५ बुँदे भकुण्डे घोषणापत्र’ जारी गर्दै सकिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य(सभासद) तिर्थ लामाले आदिवासी जनजातिको कला जगेर्ना गर्ने तामाङ चलचित्रलाई राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । यसमा नेपाली काँग्रेस पनि आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।

विशेष अतिथि चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईले तामाङ चलचित्रले फड्को मार्दै गएकोमा खुसी व्यक्त गर्दै देशलाई चिनाउने चलचित्र तामाङ समुदाय जस्तै आदिवासी जनजाति समुदायकै चलचित्र रहेको बताउनुभयो ।

यि समुदायका संस्कृतिलाई विश्वले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यसप्रति आफ्नो सकारात्मक कदम रहने उल्लेख गर्नुभयो ।

तामाङ चलचित्र संघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार जेनिश दोङले अहिलेको समयमा मानिसहरु काम चलाउ शैलीमा सामाजिक तथा साँस्कृतिक कार्यहरु गर्न उद्धत रहेको उल्लेख गर्दै यहि शैलीका कारण हाम्रा मौलिक परम्परा चाँडै लोप हुदै जाने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“यसैकारण अब हाम्रा चलचित्रमा विशेष त मौलिक परम्परा,सँस्कृतिका कुराहरु आउनुपर्छ,जसलाई भोलीका सन्ततीले बुझ्नेछन्,सिक्नेछन् र अनुसरण गर्नेछन् ।”

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले महोत्सव सफल पार्न साथ दने सबैलाई धन्यबाद दिनुभयो ।

उहाँले चलचित्र विकास वोर्ड,नमोबुद्ध नगरपालिका,रोशी गाउँपालिका,तेमाल गाउँपालिका,विपी होटल सञ्चालक,ताम्बा संघ,झाँक्री संघ,लामा संघ,तामाङ कलाकार संघ,सञ्चारकर्मी,तामाङ चलचित्र संघको टिम र स्थानिय क्रसर उद्योगहरुले खुलेर सहयोग गरेकोले महोत्सव सफल भएको बताउनुभयो ।

समारोहमा संघका उपाध्यक्ष दिपक लामा,महासचिव जयनकुमार मोक्तान,सचिव रोशन फ्युबा तामाङ लगायतले आगामी दिनहरुमा पनि चलचित्र संघ तामाङ संस्कृति र चलचित्र कर्मीकै पक्षमा क्रियाशिल रहने प्रतिवद्धता जनाए ।

समापनका दिन विभिन्न पाटोबाट महोत्सवमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई मायाको चिनो तथा सम्मानपत्र दिइएको थियो ।
महोत्सव तामाङ खाना,मौलिक पहिरन,बुद्धचित्त मालाका स्टल राखिदा थप आकर्षित देखियो ।

बरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङ,सञ्जीव वाईबा,उत्तर संगुल,निमा लामा,विशाल थिङको सांगीतक प्रस्तुतीले झनै रौनक थपियो ।

काभ्रे,काठमाण्डौं लगायतका विभिन्न जिल्लाबाट आएका साँस्कृतिक टोलीको नृत्य प्रस्तुतीले काभ्रेको नमोबुद्ध,तेमाल,रोशी,पात्लाखेत धुलिखेलका साथै अन्य जिल्लाबाट समेत रोजगार तथा अध्ययनको सिलसिलामा भकुण्डे बस्नेहरु र महोत्सवमा सहभागि विभिन्न जिल्लाका प्रतिनिधिहरुलाई रोमाञ्चिक बनायो ।

अनौपचारिक रुपमा शुक्रबार सुरु भएपनि शनिबार सांस्कृतिक झाँकी सहितको र्यालीले भकुण्डे बजार परिक्रमा गरेपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो ।

‘आप्लेङ्ला नाम्सा’ उत्कृष्ठ,नगद ५१ हजार पुरस्कार

महोत्सवमा प्रदर्शन गरिएका ५ चलचित्रमध्ये अजय स्याङतान निर्देशित चलचित्र ‘आप्लेङ्ला नाम्सा’ उत्कृष्ठ ठहरिएको छ । यो घोषणा सँगै आप्लेङला नाम्सा टिमले नगदर ५१ हजार पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवको पहिलो दिन,पहिलो प्रदर्शनको रुपमा सञ्जय हुत्त निर्देशित चलचित्र ‘सेम्रीन मुला माया’ र दोस्रो चलचित्रको रुपमा ‘आप्लेङ्ला नाम्सा’ प्रदर्शन गरिएको थियो ।

दोस्रो दिन रोशन फ्युबा तामाङ निर्देशित ‘श्होङ’,बाबु थिङ निर्देशित ‘रुङसी टिला’ र तेस्रो दिन विहान राजकुमार मोक्तान निर्देशित ‘सेर्कु’ प्रदर्शन गरिएकोमा दोर्जे लामाको स्कृप्टमा तयार पारिएको चलचित्र आप्लेङ्ला नाम्साले पुरस्कार जितेको हो ।

पुरस्कृत भएपपछि खुसी साट्दै निर्देशक अजय स्याङतानले दुई दशक लामो अनुभवले सम्मान पाएको बताउनुभयो । यसबाट आगामी दिनमा थप अध्ययन अनुसन्धान गरि गहिरिएर तामाङ चलचित्र बनाउने उर्जा मिल्नुका साथै थप जिम्मेवारी बढेको महसुस गरेको उहाँको भनाई छ ।

प्रदर्शन गरिएका चलचित्रहरुका जुरी प्रमुख बरिष्ठ रंग पत्रकार दिपेन्द्र दोङ र जुरी सदस्य संघका पूर्व अध्यक्ष प्रकाश ब्लोनले प्रदर्शित चलचित्र सबै उत्कृष्ठ रहेपनि उत्कृष्ठमध्ये पनि उत्कृष्ठको रुपमा आप्लेङला नाम्सा छानिएको स्पष्ट पार्नुभयो ।

जुरी द्धयले यस खालका महोत्सवले अबका दिन तामाङ चलचित्रलाई गुणात्मक बाटोमा डोहोर्याउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवको पहिलो दिन चलचित्र प्रदर्शनका साथै साँझ अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको थियो ।

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको प्रमुख आतिथ्यतामा ‘तामाङ चलचित्रको ईतिहास,वर्तमान अवस्था र भावि कार्यदिशा‘ विषयक अन्तरक्रियामा चलचित्रकर्मी,सञ्चारकर्मी र केहि दर्शकबिच गम्भीर छलफल भएको हो ।

पाँच बुँदे भकुण्डे घोषणापत्र जारी

तामाङ चलचित्र संघको तर्फबाट अध्यक्ष थोकरले महोत्सव समापनका दिन ५ बुँदे भकुण्डे घोषणा पत्र जारी गर्नुभयो ।
घोषणा पत्रमा के–के छन् ?

१.प्रत्येक दुई वर्षमा तामाङ चलचित्र महोत्सव आयोजना गरी उत्कृष्ठ चलचित्रलाई पुरस्कृत गरिने ।

२.चलचित्र निर्माण सम्बन्धी तथा क्षमता अभिवृद्धिका लागि हरेक वर्ष गरिदै आएको कार्यशाला गोष्ठीलाई निरुन्तरता दिने ।

३.सरकारी निकायसँग समन्वय गरी चलचित्रको बजार विस्तार गर्न पहल गर्ने ।

४.मौलिक तामाङ संस्कृतिको जगेर्ना गर्ने गरी संघको तर्फबाट पनि चलचित्र निर्माण गर्ने

५.तामाङ चलचित्र कलाकारलाई राष्ट्रिय परिचय पत्र दिलाउन चलचित्र विकास वोर्डसँग समन्वय गर्ने ।

अवको दशक तामाङ चलचित्रको गुणात्मक फड्को मार्न सहयोग मिल्ने गरी यि घोषणा पत्र सार्वजनिक गरिएको अध्यक्ष थोकरको धारणा छ।     थप फोटो फिचर हेर्नुहोस् :

       महोत्सवमा राखिएका तामाङ परकार आलुम,गेङ लगायत अन्य परिकारहरु
मौलिक पहिरनमा तामाङ चलचित्र संघमा आवद्ध कलाकारहरु

प्रतिक्रिया दिनुहोस !