
- नमोबुद्ध संवाददाता
काठमाण्डौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागले सङ्गीतकर्मीहरूसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रम गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा सङ्गीत क्षेत्रमा प्रभावकारी रूपमा केकस्ता कामहरू गर्नु पर्दछ भन्ने विषयमा राय तथा सुझाव लिने उद्देश्यले बुधबार यस्तो कार्यक्रम आयोजना गरेको प्राज्ञ शशि लुमुम्बुले जनाउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा प्राज्ञ अशोक राईले प्रतिष्ठानले आगामी वैशाखको अन्तिम साता प्रदेश नम्बर एकमा भव्य रूपमा सङ्गीत महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा उपस्थित विज्ञ–सङ्गीतकर्मीहरूले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रस्तुति पक्षलाई भन्दा अनुसन्धान पक्षलाई महत्व दिन सुझाव दिए ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम तमोट, सङ्गीत विभाग प्रमुखद्वय प्राज्ञ मञ्जुल र प्राज्ञ अशोक राईले आफूहरू यस क्षेत्रमा नयाँ र सार्थक काम गर्न आएको धारणा राख्नुभयो ।
प्रतिष्ठानको इतिहासमा पहिलो पटक यसरी गीतसङ्गीतसँग आवद्ध सर्जकहरूलाई आमन्त्रण गरेर राय–सुझाब लिएकामा प्रशन्नता प्रकट गर्दै सहभागिहरुले समुचित र मर्यादित ढङ्गले कलाकार परिचयपत्र वितरण गर्न पनि सुझाव दिएका थिए । सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईको पहलमा उक्त विमर्श गरिएको हो ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, गायक तथा सङ्गीतकार शम्भु राई, गायिका कुन्ति मोक्तानका साथै गीत, सङ्गीतसँग सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।