
- नमोबुद्ध संवाददाता
भकुण्डेवेशी– काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा शुनिबार भव्य रुपमा तेस्रो तामाङ चलचित्र महोत्सवको औपचारिक उद्घाटन भएको छ ।
तामाङ चलचित्र संघको आयोजनामा अनौपचारिक रुपमा शुक्रबार सुरु भएपनि शनिबार सांस्कृतिक झाँकी सहितको र्यालीले भकुण्डे बजार परिक्रमा गरेपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।
झाँकी र्यालीमा संयौ स्थानियका साथमा दर्जनौ बोन्बो,लामा गुरु र ताम्बाहरुको सहभागिता रह्यो । झाँकी पश्चात छ्युमे बत्ति बालेर गरिएको उद्घाटनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सुचना प्रविधि मन्त्री बाँस्कोटाका साथमा संघीय सांसद गंगाबहादुर दोङ(वमध्वज) लगायत पनि सरिक हुनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले आगामी चलचित्र नीति नेपालको विविधतालाई सम्मान गर्ने खालको हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“हामी सबै जातजातिका साँस्कृतिक चिजहरु पहिचान हुन्,यि सबै अवस्था र बस्तुस्थितीलाई ख्याल गरी सरकारले चलचित्रसम्बन्धी कार्य तथा नीतिहरु अघि सार्नेछ ।”
चलचित्रलाई हेर्ने दृष्टिकोण,व्यवहार र तिनका संरचना पुरानो भईसकेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले अब त्यसलाई फेरबदल गर्ने बेला आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–“यसबारे मैले बुझेको छुकि चलचित्र विकास वोर्डका संरचना पनि पुरानै शैलीको छ,त्यसले सबैलाई समेट्न सकिएन भन्ने मेरो पनि ठम्याई हो,अहिलेनै सबै पुरा हुन्छ भन्ने त छैन यद्यपी यसमा मैले गर्नुपर्ने काम गर्नेछु ।”
तामाङ चलचित्र संघका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार जेनिश दोङले नीतिगत पाटोमा अझै राज्यले कदम चाल्नुपर्ने अवस्था रहेको बताए लगत्तै मन्त्री बाँस्कोटाले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको हो ।
पूर्व अध्यक्ष दोङले आदिवासी चलचित्रलाई राज्यले हेर्ने दृष्टिकोण विभेदकारी नरहेको गुनासो गर्नुभयो । नेपालको संस्कृति प्रवद्र्धनमा एक मात्र शसक्त माध्यम चलचित्र रहेको दावी गर्दै दोङले यसलाई फराकिलो ढंगले बुझ्नुपर्ने धारणा राख्नुभयो । संघका पूर्व अध्यक्ष प्रकाश ब्लोनले पनि कुनै समुदायको सँस्कृति बचाउनु छ भने राज्य उदार हुनैपर्ने बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ(वमध्वज)ले हरेक समुदायको संस्कृति संरक्षण गर्ने दायित्व राज्यको हुनुपर्ने र यसप्रति आफू पनि गम्भीर रहेको बताउनुभयो ।
नमोबुद्ध नगरपािलकाका प्रखुम टिपी शर्माले तामाङ समुदायको बाहुल्यता रहेको नगर नमोबुद्धमा यस खालको महोत्सव भएको भन्दै आयोजकप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले चलचित्रले सशक्त रुपमा साँस्कृतिक जागरण तथा पहिचान प्रर्वद्धनका काम गर्ने भएकोले नमोबुद्ध नगरपालिका सदैव साथ दिन तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
औपचारिक समारोहलाई समापन गर्दै चलचित्र संघका अध्यक्ष बिकु थोकरले सिंगो बौद्ध सम्प्रदायले गर्व गर्ने ठाउँ ‘नमोबुद्ध स्तुप’ रहेको नगरपालिकास्थित भकुण्डेमा बौद्धमार्गी तामाङहरुको चलचित्र महोत्सव गर्नु खुसीको कुरा रहेको तर्क बताउनुभयो । यसले सिंगो तामाङ समुदायमा सकारात्मक सन्देश जाने उहाँको दावी छ ।
अध्यक्ष थोकरले नमोबुद्ध नगरपालिका स्वयम्ले सोचेभन्दा बढि सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । यसका साथै चलचित्र विकास वोर्ड,रोशी गाउँपालिका लगायतका विभिन्न निकाय तथा संघसंस्था र व्यक्ति महानुभावहरुले गरेको सहयोगप्रति उहाँले आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार,स्थानिय तहका प्रतिनिधि लागयतले पनि महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शनिबार दुई चलचित्र प्रदर्शन,कन्सर्ट,तामाङ गोईलो र तामाङ खाना थप आकर्षण
‘हाम्रो कला हाम्रो पन,तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका सुरु भएको महोत्सव अन्तरगत शुक्रबार झैं शनिबार पनि दुई चलचित्र प्रदर्शन गरिएको छ । बिहान रोशन फ्युवा निर्देशित तामाङ चलचित्र ‘श्होङ’ र दिउँसो बाबु थिङ निर्देशित ‘रुङसी टिला’ देखाइएको हो ।
तामाङ समुदायमा नासो परम्परा,नारीलाई हेर्ने दृष्टिकोण,जवरजस्ती विबाहको प्रचलन लगायतका विषयमा बनेका यि दुई चलचित्र हेर्न शुक्रबारको तुलनामा केहि दर्शक बढि देखिए । उनिहरुले पछिल्लो समय राम्रा चलचित्रहरु बन्न थालेको प्रमाणित भएको प्रतिक्रिया दिए ।
शनिबार औपचारिक उद्घाटन समारोहमा तामाङ मौलिक झाँकीहरु प्रस्तुत गरिएको छ भने त्यसपश्चात सांगीतिक कन्सर्ट भएको छ । कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ,जल्दाबल्दा गायक तथा संगीतकार निमा दोङ,विशाल थिङले सहभागिलाई आफ्ना चल्तीका गीतहरुमार्फत नचाए ।
विभिन्न भेग बस्तीबाट आएका सांस्कृतिक समुहहरुले पनि नृत्य तथा गीत संगीत प्रस्तुत गर्दा महोत्सव थप उल्लासमय बन्न पुगेको छ ।
यसका अलावा गोइलो सप्लायर्सको गोईलो स्टलका साथै बुद्धचित्त माला,बौद्ध ध्वजापताका,तामाङ बाबरे,आलुम,आइरक जस्ता मौलिक परिकारले कार्यक्रम स्थल तामाङ मय देखिएको छ ।
महोत्सवको आइतबार समापन हुनेछ । आइतबार राजकुमार मोक्तान निर्देशित चलचित्र ‘सेर्कु’ प्रदर्शन,उत्कृष्ठ चलचित्रलाई सम्मान तथा पुरस्कार,सहयोगीहरुलाई सम्मान ज्ञापन गर्दै पूर्व सभासद तिर्थ लामाबाट महोत्सवको समापन गरिने तामाङ चलचित्र संघका अध्यक्ष थोकरले जानकारी दिनुभयो ।
कार्यक्रमसँग सम्बन्धित भिडियोहरु :
भिडियो सहित
भिडियो सहित