- नमोबुद्ध संवाददाता
दोलालघाट–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काभ्रेको दोलालघाट भुम्लुको विकासका लागि आफु गम्भीर रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनाउँदै मन्त्री बाँस्कोटाले बाहिरको मान्छेलाई पिडा सुनाएर केहि अर्थ नहुने उल्लेख गर्नुभयो ।
‘दोलालघाट भुम्लु पर्यटन मेला तथा दोलालघाट महोत्सव’को बुधबार उद्घाटन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–“दोलालघाट पर्यटन विकासका लागि डिपिआर गरेर ल्याउनु,पहिला यो काम गरौं,म यसमा सहयोग गर्न तयार छु,गर्ने हामीनै हौं ।”
नयाँ वर्षताका मात्रै दोलालघाट पर्यटनको विषय उठ्ने अरु बेला सुत्ने प्रवृत्ति रहेको भन्दै उहाँले यो राम्रो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“तेमाल वेशीको वरबोटदेखी यहाँसम्म ठूलो बगर छ, यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी केहि त गरौं,वर्षमा एकचोटी यस्तो कार्यक्रम गरेर मात्रै हुदैन,यो बगरमा प्रत्येक साँझ यहाँ पर्यटकलाई स्वागत सत्कारको अवस्था बन्नुपर्यो,उनिहरुलाई प्राकृतिक वातावरणसँगै यस्तै सांगीतिक मनोरञ्जन होस्,यहाँ आएपछि बाहिरका भन्दा यहाँका खानेकुरा मात्रै खाने व्यवस्था गर्नुपर्यो,पैसा हुनेले खर्च गर्छन्,नहुनेले कमाउँछन् ।”
दोलालघाट भुम्लु पर्यटन मेला र दोलालघाट महोत्सवको नाममा दुई वटा छुट्टाछुट्टै संस्था विभिाजित भएर लागेकोमा मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो–“अरनिको यातायातका तर्फबाट दुई संस्थाका दुई अध्यक्षलाई छुट्टा छुट्टै चेक दिएर सहयोग गरेको पाएँ,यो राम्रो हैन,पहिला मिलेर आउनु,अनि लाखको के कुरा म पनि करोडौंको योजनामा साथ दिन्छु ।” उस्तै उस्तै उदेश्य भएपछि किन विभाजित ? उहाँले प्रश्न गर्दै ति स्थानिय संस्थालाई मिल्न आग्रह गर्नुभयो ।
यद्यपी उहाँले सुनकोसी हाईड्रो प्रोजेक्ट अगाडी बढेमा दोलालघाटको पर्यटन विकासको योजना फरक तरिकाले अगाडि बढ्ने स्पष्ट पार्नुभयो । करिब ७ सय मेगावाटको सुनकोशी जलविद्युतका लागि ड्याम बाँधिनु पर्ने भएकोले यो योजना अघि बढे त्यसअनुसारनै यहाँको पर्यटक विकासका कामहरु अघि बढाउन सकिने उहाँको धारणा छ ।
“यहाँ माछा पाल्न सकिन्छ,यसैमाथि डुंगा यात्रा गर्न सकिन्छ,यस योजनाले पर्यटन प्रवद्र्धनमा ठुलो प्रगति हाँसील गर्छ, एकै चोटी सबै हुन्न विस्तारै हुने हो ।”–उहाँले योजना सुनाउनुभयो । यहि बगरकै कारण यहाँका नागरिकले धेरै फाईदा लिन पाईरहेको भन्दै मन्त्री बाँस्कोटाले यी चिजहरुको सहि प्रयोगमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–“हामी जनताको पैसा जनतामै पुग्ने काम गर्दैछौं,यसै अनुसारका योजना अघि बढाएकै छौं,हालै सम्पन्न लगानी सम्मेलनमा काभ्रेका मात्रै आधा दर्जन योजनाहरु सार्वजनिक गरेका थियौं,सकारात्मक अवस्थाको सृजना भएकै छ ।”
स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्यो : लालध्वज
विशेष अतिथि पूर्व उर्जराज्य मन्त्री सुर्यमान दोङ(लालध्वज) ले मेला महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले ठूला ठूला बहुराष्ट्रिय कम्पनीका उत्पादन विक्रीभन्दा स्थानिय स्रोत साधनको अधिकतम उत्पादन र प्रयोगबाटै समृद्धिको यात्रा तय गर्ने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो–“यहाँ मैले थुप्रै होडिङ बोर्ड र व्यानरहरु बाहिरी उत्पादनका देखें,अब यसो हैन, अर्वौं पैसा बाहिर जाने गरी बाहिर बाहिरका सामान हैन, रक्सी हैन,हाम्रै यहाँका आईरक प्रयोगमा ल्याउनुपर्यो,अर्को साल आउँदा यसकै होर्डिङ बोर्डहरु देख्न पाउँ ।”
मेला महोत्सवको चहलपहल
मेला तथा महोत्सवको पहिलो दिन बुधबार खासै चहलपहल नदेखिएपनि भोली बिहिबारदेखी स्टलहरु पनि भरिने भएकोले दर्शक तथा अवलोकनकर्ता बढ्ने आयोजकले अपेक्षा गरेका छन् । स्थानिय क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रचारप्रसारका लागि मेला आयोजना गरिएको दोलालघाट पर्यटन प्रबद्र्धन तथा समाज विकास केन्द्रका अध्यक्ष रमेश लामा दोङले बताउनुभयो ।
नयाँ वर्षको अवसरमा आयोजित मेला अन्तरगत स्थानिय उत्पादन समाग्री,कला कौशल,रमाईलो बाल उद्यान,सर्कस,मौलिक खानाका स्टल,डुंगा यात्राका साथै न्यु इयर इभमा डिजे पार्टीको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । बुधबार उद्घाटन समारोहकै बिच कलाकार गगन राई,युस्मा राई,रामहरि न्यौपाने,रसीला श्रेष्ठ,सुर्यमणी आचार्य,सुनिता दुलाल लगायतले सांगीतिक मनोरञ्जन दिनुभयो ।
दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले नयाँ वर्ष ०७६ को १ गतेदेखी महोत्सवको माहौल झनै बढ्ने विश्वास व्यक्त गर्नुभयो । स्थानियदेखी चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती,रमाईलो वातावरण,औद्योगिक मेला,क्याम्प फायर,खानपिनमा मौलिकपना जस्ता कारणले पनि युवादेखी वृद्धवृद्धासम्मको मन महोत्सवले तान्ने उहाँको दावी छ ।
मेला,महोत्सव वैशाख ४ गतेसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।
दोलालघाट पर्यटन विकासबारे सञ्चारमन्त्री बाँस्कोटा के भन्नुहुन्छ ? भिडियो हेर्न सक्नुहुन्छ :