- नमोबुद्ध संवाददाता
तेमाल–सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बाम सरकार निर्माणको पहिलो वर्ष नीतिगत सुधारका साथै संविधान कार्यन्वयनको वर्ष भएको उल्लेख गर्दै अव विकासले गति लिने बताउनुभयो । संघीय सरकारलाई गुनासो गरिरहने भन्दा पनि स्थानिय सरकार पनि गम्भीर भएर जनताको समस्या समाधानमा लाग्नुपर्ने उहाँको भनाई छ ।
मंगलबार काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ७ चापाखोरीमा जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा)को सहयोगमा निर्मित राधाकृष्ण माध्यमिक विद्यालयको पक्की भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो–“चिन्ता र गुनासो गर्ने भन्दा पनि काम गर्ने बेला आईसक्यो,तेमालका जनताको भावना राम्रैसँग बुझेको छु,यहाँका दुई वटा बाटो(ठाडो बाटो र कोशी छेउको बाटो ४ वर्षभित्र पिच हुन्छ ।” हिउँदयाममा जसोतसो गाडी चलेपनि वर्खायाममा तेमालवासीले सास्ती खेप्नु परेकोमा अव दुई मुख्य बाटोहरु पक्की बनाउन संघीय सरकार लाग्ने उहाँले स्पष्ट पार्नुभएको हो । यस बाहेकका सानातिना सडकहरु स्थानिय सरकारले हेर्नुपर्ने उहाँको भनाई छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार सञ्चार तथा शिक्षा क्षेत्रमा निकै संवेदनशील रहेको उल्लेख गर्नुभयो । नीजि विद्यालयको शिक्षालाई निरुत्साहित बनाउने वाताबरण सामुदायिक विद्यालयहरुमा हुनुपर्ने बताउँदै उहाँले तेमालका ८ वटा माध्यमिक विद्यालयहरुमा कम्युटर सहितको आईटी प्रविधिमैत्री शिक्षण प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । राजनीति गर्नभन्दा पनि आफ्नो मुख्य काममा लाग्न उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
काभ्रे जिल्लाभर मात्रै ५५ वटा ठाउँमा टेलिकमको टावर राख्न सर्भेक्षण सम्पन्न भईसकेको जानकारी दिदै उहाँले तेमालका एकाध बाँकी ठाउँ समेत सञ्चार प्रविधिको पहुचमा पुग्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले तेमाललाई बुद्ध चित्त उत्पादन केन्द्रको रुपमा विकास गराउन सकिने धारणा पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“खेती किसानीका लागि सिञ्चाईको उपलब्धता सहज छैन तर यहाँका सबै ठाउँमा बुद्धचित्त रोप्न सक्छौं,ब्राण्ड बनाएर संसारमा विकाउन सक्छौं,माटो हेरेर फलफूल रोप्न सक्छौं,गुज्युङमुज्युङ सबै चिज रोप्न खोजेर हुदैन,पकेट क्षेत्रको रुपमा अघि बढ्नुपर्यो ।”
सुनकोशी बहुउद्धेश्यीय जलविद्युत आयोजना समेत अघि बढाएको जानकारी दिदै उहाँले भन्नुभयो–“संसारमा कि प्राकृतिक त कि साँस्कृतिक पाटोलाई समातेर पर्यटनको विकास गर्न सकिन्छ, ऐतिहासीक तामाङ संग्रहालय त बन्ने भैहाल्योनै, सबैलाई थाहा छ, तेमालको छेउ हुदै सुनकोशी वगीराछ, यहाँ करिब ७ सय मेगावाट क्षमताको विजुली उत्पादन हुनसक्छ,ड्याम बाँधेर ताल बनाउँछौं,माछा उत्पादन हुन्छ,डुङ्गा चल्छ,आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक केन्द्र बन्छ, अहिले गाउँ छाडेर हिडेकाहरु थकथक मानेर यहि भिरपाखा खोज्दै आउनुपर्ने दिन आउँछ ।”
संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज) ले समृद्ध तेमाल निर्माणको सपना परा हुदै गएको दावी गर्नुभयो । तेमालको शैक्षिक र भौतिक दुबै पाटोका विकास निर्माणमा आफू जनतासँगै रहेको उहाँको भनाई छ ।
कार्यक्रममा संघीय सांसद नविना लामाले शिक्षा समृद्धिको महत्वपुर्ण एजेण्डा रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो–“सरकारी विद्यालयमै पढेकाहरुले देश हाँकीरहेका छन्,हाम्रा सरकारी शिक्षा त्यत्ति कमजोर त छैन यद्यपी यसलाई सुधार्नुपर्ने धेरै छ,यसलाई अझ व्यवहारिक र बैज्ञानिक बनाउन सरकार लागेकै छ ।”
विद्यालयको पक्की भवन हस्तान्तरण कार्यक्रमको औपचारिक समारोह समापन गर्दै राधाकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजीत लामाले आफ्नो ३० वर्षको सपना पुरा भएको बताउनुभयो । लामो समय सोही विद्यालयमा शिक्षण समेत गर्नुभएका सामाजिक तथा राजनीतक अभियन्ता लामाले अब गुणस्तरिय शिक्षा दिलाउन असर गर्ने महत्वपूर्ण पाटो संरचना निर्माण पुरा भएको बताउँदै अब प्रविधिमैत्री शिक्षाको थालनी हुने दावी गर्नुभयो ।
४ करोड ४० लाख १७ हजार ४ सय ४६ मा १८ महिनामा निर्माण सम्पन्न १४ कोठा सहितको पक्की भवनमा विज्ञान प्रयोगशाला,कम्युटर प्रयोगशाला,पशासनिक कक्ष,प्रधानाध्यापक कक्ष,इसिडी सहितका अन्य कक्षाहरु सञ्चालनमा रहने उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा सौर्य उर्जा जडान,छात्र र छात्राका लागि सौचालय,खानेपानी धाराको व्यवस्थाका साथै सुरक्षाका लागि कडा तारजालीले कम्पाउण्ड घेरिएको छ ।