• नमोबुद्ध संवाददाता

रसुवा–लाङटाङ हिमालको काखमा अवस्थित रसुवाको स्याफ्र्युवेशीमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम(कन्सर्ट) गरिएको छ ।
गीत संगीतको माध्यमबाट रसुवाको महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई चिनाउन रसुवाका संगीतकर्मी तथा कलाकारहरूलाई भेला गराई राष्ट्रिय संगीतकार संघ रसुवाले २८५५ औं (फाग्) ल्होछार साँस्कृतिक कार्यक्रम औपचारिक रुपमा आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष तथा आदिवासी जनजाती चलचित्र महासंघका वरिष्ठ उपाध्यक्ष विकु थोकारले २८५५ औं ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरेर नयाँ कार्यको थालनी गरेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो–“कलाको माध्यमबाट समाज परिवर्तन गर्न कलाकारहरूले अहम् भूमिका निर्वाह गर्दै आइरहेका छन्,समृद्ध नेपाल निर्माणको अभियानमा आ–आफ्नो भुमिका मार्फत हामी पनि लामबद्ध छौं तर देशको गहनाको रुपमा रहेका कलाकारहरुलाई राज्यले बेवास्ता गर्नुहुन्न, स–सम्मानका साथ सँगै लैजान आवश्यक छ ।”

भाषा, धर्म, संस्कृति र कलाको संरक्षण गर्न गीत संगीतको माध्यमबाट लाङटाङको काखमा आएर कलाकारकहरुले विश्वलाई नयाँ सन्देश दिन खोजेको उहाँको भनाई छ ।
उहाँले थप्नुभयो–“रसुवा प्राकृतिक सुन्दरताले मात्रै हैन साँस्कृतिक रुपमा पनि उत्तिकै धनी छ, बाह्य तथा आन्तरिक पर्यटक प्रवद्र्धनका लागि तामाङ चलचित्र संघ प्रचारात्मक अभियानमा लाग्नेनै छ ।”

कार्यक्रममा राष्ट्रिय संगीतकार संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, नेपाल चीन केरूङ व्यापार संघका अध्यक्ष मान बहादुर तामाङ, आमा छोदिङमा गाउँपालिकाका अध्यक्ष बोचुङ तामाङ, गोसाँइकुण्ड गाउँपालिकाका अध्यक्ष काइसाङ नोर्बु तामाङ, नेकपाका प्रदेश सदस्य तेम्ब्रेल तामाङ, पूर्व सभासद छेवाङ तेन्जेन तामाङ, नेकपाकै रसुवा अध्यक्ष कर्णेल लामा, नेपाली कांग्रेसका पेम्वा छिरिङ तामाङ लगायतले पनि रसुवाको पर्यटन विकासमा एक ठाउँमा उभिने वचन दिए ।

कन्सर्टले ततायो माहौल

रसुवाको विकासमा साँस्कृतिक पाटोको विकास महत्वपूर्ण छ भन्ने सन्देश यो कार्यक्रमले दिएको स्थानिय बुद्धिजीवि बताउँछन् । स्थानिय मौलिक गीतसंगीतका अलावा अन्य स्थानका सेलो गीत पस्किन काठमाण्डौंदेखी ठुलै टोली स्याफ्रुवेशी पुग्दा स्थानिय औधी खुसी देखिन्थे ।

भर्खर भर्खर आधुनिक सञ्चार प्रविधिमार्फत संसारमा फिजिदै गएको स्थानिय मौलिक म्हेन्दोमाया गीतदेखी सेलो गीत सम्मले तामाङ जनजीवन तथा उनिहरुको संस्कृति,दुखसुख व्यक्त गर्ने हुनाले गीतसंगीत मनोरञ्जनका साथै सञ्चारको शसक्त माध्यम हो भन्ने बुझाई उनिहरुमा देखिन्थ्यो । त्यसैले सिमसिम पानी र चिसो हावाको कुनै वास्ता नगरी उनिहरु गीत संगीतमा सहजै झुमे ।

“अहिलेसम्म हामीले राष्ट्रिय कलाकारहरूको उपस्थितिमा नाच्ने पाएका थिएनौं,आज त धित मर्ने गरी नाच्ने हो ।’ संगीतको तालमा रम्दै सहभागी मध्येका एक पुर्णिमा स्याङबोले यसरी खुसी व्यक्त गर्नुभयो ।  तामाङ गीतसंगीतका कलकाकारका अलावा लोक दोहोरी कलकाकार आशा तामाङ,अमृत खाती र स्मृति गौतमको प्रस्तुतिमा पनि स्थानियले उत्तिकै साथ दिए ।

रसुवाको विकासबारे विचारमन्थनका साथमा भएको वृहत ल्होछार साँस्कृतिक कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई उनिहरुको योगदानको कदर गर्दै सम्मान पत्र पनि प्रदान गरियो ।

राष्ट्रिय संगीतकार संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङले गीत संगीतलाई विकास निर्माणको चेतनासँग जोड्ने प्रयास स्वरुप भएको कार्यक्रमलाई साथ दिएकोमा रसुवावासीलाई धन्यबाद दिनुभयो ।

उहाँले भन्नुभयो–“खास गरी हामी साँस्कृतिक जागरण अभियानकै क्रममा यहाँ भेला भयौं,यसले हाम्रो साँस्कृतिक पर्यटन विकासमा केहि न केहि अर्थ राख्नेमा विश्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस !