• नमोबुद्ध संवाददाता

महाशिवरात्रिका अवसरमा सोमबार काभ्रेको धुलिखेल गौखुरेश्वर महादेव मन्दिर सहित देशभरका शिव मन्दिरहरुमा धार्मिक तथा साँस्कृतिक रौनक देखिएको छ । दिउँसोभन्दा बेलुकीपख यत्तिबेला पर्यटकिय नगरी धुलिखेलको गौखुरेश्वरमा दर्शनार्थीहरुको भिडनै लागेको छ ।

 

धुलिखेलका अलावा आसपास तथा छिमेकी जिल्लाका हजारौं भक्तजनहरु शिवभक्तीका लागि आएका हुन् । यसरी आन्तरिक तथा वाह्य पर्यटकको चहलपहलले धुलिखेलका पर्यटन तथा होटल व्यवसायी खुसी छन् । प्राकृतिक छटासँग रम्ने पर्यटकको अलावा यहाँ धार्मिक पर्यटक पनि देखिएका हुन् । 

जिल्लाको साँगामा पर्ने शिवमुर्ति सहितको डाँडामा पनि सोमबार चहलपहल निकै देखियो । शिवको भक्तिभाव सहित भजनकिर्तनमा लागेमा दिर्घायु हुने,शिव लिंगको दर्शन तथा शिवको ध्यान गरेमा शिव जस्तै पति पाउने विश्वास हिन्दुधर्मावलम्बीहरुमा छ ।

यहि विश्वासका साथ रातभर जाग्राम बसी आगोधुनी समेत चढाउने गरिन्छ । कत्तिले शिवजीको प्रसाद भन्दै गाँजा,भाङ,धतुरो,घोट्टा जस्ता बस्तुको प्रयोग एवम् मदिरापान तथा धुमपान गर्छन् ।

भिडियोसहित

पशुपतिमा लाखौं दर्शनार्थी

काठमाण्डौंमा रहेको पशुपतिमा लाखौं दर्शनार्थी मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका छन् । यो पटक यस वर्ष विगतभन्दा दर्शनार्थीको संख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो देखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ ।

भक्तजन र सर्वसाधारणको गुनासो,प्रहरीको बल प्रयोग

पशुपति क्षेत्र आसपास यो पटक पनि यातायात सेवा अस्तव्यस्त बन्यो । पशुपति क्षेत्रविकास समितिको कमजोरी तथा ट्राफिक व्यवस्थापनमा देखिएको कमजोरीले लाँखौ सर्वसाधारणले समेत सास्ती वेहोनुपरेको गुनासो गरेका छन् ।

दर्शनका लागि उचित व्यवस्थापन नगरेकै कारण गौशला, मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान,एयरपोर्ट र चावहिल क्षेत्रमा यातायात आवजजावतमा समस्या देखियो । घण्टौं जाममा परेका कारण लाखौंले थुप्रै क्षति वेहोर्नुपरेका गुनासो गरेका हुन् ।

भक्तजनले पनि लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । कोषले ६ हजार सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक खटिएको बताएपनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ ।

मूल मन्दिर छिर्ने ढोकामा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !