• नमोबुद्ध संवाददाता

काठमाण्डौं–वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाईएको छ । यस सन्दर्भमा राजधानीको रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकमाझ शनिबार एक औपचारिक कार्यक्रम आयोजना गरियो । विशेषत : आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाईएको हो ।

 

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालले योद्धा राईले नेपालको राजनीतिक परिवर्तनका लागि पुर्याएको योगदानको स्मरण गराउँदै नागरिकस्तरबाट उक्त योगदानको उच्च मूल्याङ्कन भइरहेको बताउनुभयो । उहाँले राईको योगदानको राज्यबाट पनि उचित सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष देवीप्रसाद घिमिरे, कोषाध्यक्ष इन्दिरा पोखरेललगायतले पनि प्रजातान्त्रिक योद्धा राईको योगदानको प्रशंसा गर्नुभयो ।

राईको जन्मजयन्तीको पूर्व सन्ध्यामा शुक्रबार माइतीघर मण्डलमा दीप प्रज्वलन पनि गरिएको थियो ।
००७ सालको जनक्रान्तिमा पूर्वको कमान्डर रहेका राई ००८ सालमा भएको सिंहदरबार विद्रोहपछि बेपत्ता पारिएका थिए ।

प्रतिक्रिया दिनुहोस !