• नमोबुद्ध संवाददाता

काठमाण्डौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
अधिकारीसँग सरोकार नै नभएको वाइडबडी जहाजको विषय जोडेर केही तत्वले उहाँको बदनाम गर्न खोजको प्रधानमन्त्रीको टिप्पणी छ । ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । अत्यन्तै अनुचित ढङ्गले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बदनाम गर्न खोजे, जो सम्पूर्ण रूपमा निराधार कुरा हो ।’

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘वाइडबडी जहाजको कुरा उहाँ मन्त्री हुनभन्दा पहिलेको हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुचि भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’

वाइडबडी जहाजका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘मलाई दुख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढङ्गले आरोप, लाञ्छना लगाउने र अपमान गर्ने कामहरू पनि भयो ।’ मन्त्री अधिकारीले नागरिक उड्ययन क्षेत्रमा देखिने गरी असाधारण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, वीराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो ।’ ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

मन्त्री अधिकारी विमानस्थलहरूको अध्ययन भ्रमणकै क्रममा हिजो बिहीवार जमर्नीको म्युनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हिजो उहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्युनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढङ्गको एयरर्पोट ह्याण्डिलिङ बनाउने, उहाँहरूसँग सहकार्य गर्ने उहाँले योजना बनाउनु भएको थियो ।’ अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेकपासंसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्ययसमेत गरेको सिआइएनले जनायो ।

राजकिया सम्मानका साथ सँस्कारियो

बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिएका छन् । विहान काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिएपछि उहाँको शव दिउँसो पोखरा लगिएको हो ।

उहाँको पार्थिव शरीर पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पनि केहि समय श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि शवयात्रा गरियो ।  हजारौँ सर्वसाधारणको उपस्थितिसहित नयाँबजारबाट सुरु शवयात्रा महेन्द्रपुल–रानीपौवा–हस्पिटल चोक हुँदै सेती नदी किनार रामघाट पुगेको थियो ।

शवयात्रामा हजारौँ जनताले उहाँप्रति श्रद्धा प्रकट गरेका थिए । शव यात्रामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो । दिवङ्गत अधिकारीप्रति सेनाको एक टोलीले सलामी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !