• नमोबुद्ध संवाददाता

बनेपा–स्व.उर्मिला सापकोटा डाँडापारी पत्रकारिता पुरस्कारबाट पत्रकार द्धय देवराज केसी र श्रीराम केसी पुरस्कृत हुनुभएको छ । काभ्र्रे डाँडापारीकी उर्मिला कोईरालाको स्मृतिमा खडा गरिएको १ लाख रुपैयाँको कोषबाट नेपाल प्रेस युनियन काभ्रे शाखाले यो पुरस्कार बुधबार वितरण गरेको हो । पुरस्कृत केसी द्धयलाई प्रतिव्यक्ति सम्मानपत्र,नगद ५ हजार ५ सय ५५ र दोसल्ला ओढाईएको छ ।
भौतिक विकास तथा भौगोलिक दृष्टिकोणले विकट मानिएको काभ्रे डाँडापारीको विकासमा ति क्षेत्रका मुद्धाहरुमाथि कलम चलाएकोमा त्यसको उच्च मुल्यांकन गर्दै केसी द्धयलाई पुरस्कृत गरिएको प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले बताउनुभयो । उहाँले प्राविधिक कारणवस गत वर्ष वितरण गर्न नसकेको पुरस्कार यो पटक एकै पटक वितरण गरिएको र अर्को वर्ष स्वर्गीय सापकोटाको गाउँमै औपचारिक कार्यक्रम गरी वितरण गरिने जानकारी पनि दिनुभयो ।

२०७४ को पुरस्कारबाट पुरस्कृत देवराज नेपाल टेलिभिजनका काभ्रे सवांददाता हुनुहुन्छ भने २०७५ को पुरस्कारबाट पुरस्कृत श्रीराम अन्नपूर्ण पोष्ट काभ्रेका संवाददाता हुनुहुन्छ । यसका अलावा जिल्लाका विभिन्न स्थानिय पत्रपत्रिकामा समेत संलग्न केसी द्धयले यो पुरस्कारले आफूहरुलाई कलम चलाउने थप उर्जा मिलेको प्रतिक्रिया दिनुभयो ।
पुरस्कार वितरण औपचारिक समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले डाँडापारी क्षेत्रको विकासका लागि पत्रकारहरुको भुमिका अझ बढि आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सीनाले यो पुरस्कारको दायरा फराकिलो बनाउन अनुरोध गर्नुभयो । उहाँले काभ्रेको विकटतालाई चिर्न पत्रकारिताको महत्व रहने बताउनुभयो । हिजोको तुलनामा आज हुदै गरेको सडक सञ्जालको विकासले काभ्रे डाँडापारीको यथार्थ रिपोर्टिङ गर्न केहि सहजता आएको भएपनि सो क्षेत्रमा स्थानियलाई सुसुचित गराउने सञ्चारकर्मी औंलामा गन्न सकिने मात्रामा रहेको बताउनुभयो । यसमा पत्रकार महासंघ गम्भीर ढंगले लाग्ने उहाँको भनाई छ ।

नेपाली काँग्रेस काभ्रेका सचिव दिनेश लामाले पुरस्कृत द्धयलाई बधाई ज्ञापन गर्दै पत्रकारिताको क्षेत्रबाट काभ्रेको विकास निर्माणमा पत्रकारका कलम शसक्त ढंगले चल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझाले पत्रकारको क्रियाशिलतामा प्रोत्साहन मिल्ने काम भएकोमा प्रशंसा गर्दै प्रेस युनियन छिट्टै आफ्नो अधिवेशनमार्फत नयाँ टिम बनाई शसक्त रुपमा लाग्ने बताउनुभयो ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति रमेश हुमागाईले पत्रकारिता जगतलाई उत्प्रेरणा मिल्ने काम प्रेस युनियन र सापकोटा परिवारबाट भएको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सीनाले पत्रकारिताको धर्म नछोड्न पत्रकारहरुप्रति खबरदारी गर्नुभयो । सुसंस्कृत तथा सभ्य समाज निर्माणमा पत्रकारको मुख्य भुमिका रहने उहाँको धारणा छ । स्वर्गीय उर्मिला सापकोटाकी पिता गोपालकृष्ण सापकोटाले यो पुरस्कार वितरणलाई अझै व्यवस्थीत बनाउन आग्रह गर्नुभयो । उहाँले पत्रकार कुनै आस्थामा बाँडिएपनि उनिहरु सबैको धर्म र कर्म एउटै भएकोले सबैको भावनालाई यो पुरस्कारले समेट्न सक्नुपर्ने तर्क पनि गर्नुभयो ।

भिडियो हेर्नुहोस् 

पुरस्कृत पत्रकार द्धयलाई वधाई व्यक्त गर्दै उहाँले डाँडापारीलाई संधै ‘पारी’ र ‘विकट’ भन्ने , भनाउने र बनाउने दृष्टिकोण चिर्न सम्पुर्ण पत्रकारहरुमा सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।

प्रेस युनियन काभ्रेका सचिव मधुसुदन तिमल्सीनाले स्वर्गीय उर्मिला सापकोटाको परिवारको भावनालाई कदर गर्दै अगामी पुरस्कार वितरण कार्यक्रमलाई अझै व्यवस्थीत र यसको दायरा फराकिलो बनाउने जानकारी दिनुभयो ।
यायायात सञ्जालको सहज पुहँच नभएको डाँडापारी क्षेत्र च्याम्राङबेसीमा उच्च शिक्षा अध्ययन गर्ने कलेज पनि हुदा कलेज अध्ययनका लागि छिमेकी जिल्ला ललितपुरमा जानुपथ्र्यो । यहि क्रममा स्वर्गीय सापकोटाको आजभन्दा ९ वर्ष अगाडी फागुन १५ गतेसवारी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !