- नमोबुद्ध संवाददाता
बेथानचोक–काभ्रेको बेथानचोक गाउँपालिका ४ छत्रे पाटीखर्कमा रहेको तिलेश्वर महादेव मन्दिर प्रवद्र्धनका लागि स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सगं महायज्ञ सुरु भएको छ । यहि फागुन २१ सम्म चल्ने महायज्ञको आईतबार प्रदेश सांसद बसुन्धरा हुमागाई र गाउँपालिका अध्यक्ष प्रेम तिमल्सीनाले उद्घाटन गर्नुभयो ।
यसरी भयो महायज्ञ उद्घाटन भिडियो हेर्नुहोस्
महायज्ञको उद्घाटन औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद हुमागाईले बेथानचोकको धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा आफ्नो चासो रहने बताउनुभयो । उहाँले स्थानिय स्रोत साधनले नभ्याएको हदमा प्रदेश सरकार सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउनुभयो । पुरातात्वीक र ऐतिहासिक महत्व बोकेका स्थानिय मन्दिर तथा गुम्बाको विकासमा पनि आफ्नो सहयोग रहने उहाँले बताउनुभएको हो ।
गाउँपालिका अध्यक्ष प्रेम तिमल्सीनाले फराकिलो मनका साथ स्थानिय साँस्कृतिक धरोहरको विकासमा जस्तो सुकै सहयोग गर्ने बताउनुभयो । लोभ पाप,ईष्र्या,डाहा,क्रोध मान्छेको सत्रु रहेको उल्लेख गर्दै उहाँले त्यसलाई विर्सेर महायज्ञ श्रवण गर्न र गच्छेअनुसार दान गर्न अपिल समेत गर्नुभयो ।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष कृष्णवहादुर तामाङले तिलेश्वर मन्दिरको भौतिक विकास र प्रचार प्रसारमा केन्द्रित गर्ने गरी महायज्ञ आयोजना गरेको जानकारी दिनुभयो । तिलेश्वर महादेवको किम्बदन्ती सुनाउँदै उहाँले पुण्य प्राप्त गरी दुनियाले फाईदा पाउन सक्ने धार्मिक रुपले महत्वपुर्ण तिलेश्वरको प्रवद्र्धनमा जुट्न आह्वान गर्नुभयो ।
उहाँका अनुसार कथा व्यास राष्ट्रिय विभुषित नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीको मुखार विन्दबाट सुरु महायज्ञबाट उठेको दान मन्दिरको संरचना निर्माण तथा बाटोघाटो निर्माणमा खर्चिनेछ । महायज्ञबाट करिब २ करोड दान संकलन हुने अपेक्षा गर्दै उहाँले सबै दान पारदर्शि ढंगले विकास निर्माणमै खर्चिने प्रतिवद्धता जनाउनुभयो ।
यो सामाजिक तथा धार्मिक कार्य भएको उल्लेख गर्दै उहाँले सहयोगी दानवीरहरुको नाम शिलालेखमा उल्लेख गर्ने तथा सम्मान अर्पण गर्ने बताउनुभयो । महायज्ञको समुद्घाटन पूर्व स्थानियहरुको उल्लेख्य सहभागितामा कलश यात्रा निकालिएको थियो ।
महायज्ञमा बुद्ध दर्शनको समेत प्रवचन
स्थानिय बौद्धमार्गीहरुको भावनाको सम्मानका लागि उनिहरुलाई लक्षित गर्दै महायज्ञ अवधिभर बुद्ध दर्शनबारेको प्रवचन समेत दिईदैछ । आयोजकका अनुसार स्थानिय लामा क्षेत्रबहादुर लामाबाट महायज्ञको अवधि २१ गतेसम्म हरेक दिनको १ः३० देखी एक घण्टासम्म बुद्धदर्शन प्रवचन हुनेछ ।
कलश यात्रा भिडियो हेर्नुहोस्
थप फोटो फिचर हेर्नुहोस्