• नमोबुद्ध संवाददाता

काठमाण्डौं–यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ दाङकी लेखक तथा समालोचक डा. विन्दु शर्माले प्राप्त गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम गरी जसराज किराती प्रतिभा प्रतिष्ठानले उक्त पुरस्कार डा. शर्मालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्मालाई माला, ताम्रपत्र र नगद रु. पचास हजार राशिको उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कुलपति उप्रेतीले संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र चयन गरेको दावी गर्नुहुदै पुरस्कारको गरिमा झनै बढाएको बताउनुभयो । पुरस्कृत प्रतिभाका बारेमा डा. भक्त राईले प्रकाश पार्नुभएको थियो ।

कविता, निबन्ध, कथा तथा समालोचनाका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत डा. शर्मालाई पुरस्कृत गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रक्ष राईले जानकारी दिनुभयो । पुरस्कार ग्रहण गर्दै डा. शर्माले आफूले सरप्राइज पुरस्कार पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका पूर्व अध्यक्ष तथा साहित्यकार दयाकृष्ण राई, कवि श्रवण मुकारुङ, गीतकार टीका चाम्लिङका साथै कवि जसराज किरातीले आ–आफ्ना धारणा राख्नुभएको प्रतिभा प्रतिष्ठान बेलायतका नेपाल प्रतिनिधि एवम् प्राज्ञ शशि लुमुम्बुले जनाउनुभयो ।

वि.संं. २०३३ साल वैशाख १८ गते दाङको उरहरीमा जन्मीनुभएका डा. शर्माका ‘गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे’, ‘आधारभूत नेपाली समालोचना’, ‘भीमनिधि तिवारीः सिर्जना र धरातल’, ‘आदिकवि भानुभक्तः समसामयिक आँकलन’, ‘विश्वेश्वर कोइरालाः समीक्षा र सम्झना’, ‘नेपाली समालोचनाका नवीन आयाम’ समालोचना र ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ सम्पादन र ‘ओक्कल दोक्कल पिपलपात’ कविता संग्रह प्रकाशित छन् ।

उहाँ प्राध्यापन पेशाको अलावा साहित्य सृजनामा उत्तिकै क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !