
- नमोबुद्ध संवाददाता
काठमाडौँ – नेपाली साहित्य र कला क्षेत्रमा नाम कहलिएका दर्जन बढि व्यक्तित्वहरु शनिबार दिउँसो राजधानीको बौद्ध महाचैत्यमा भेटिए । यहाँका संघीय सांसद कृष्ण राई समेतलाई अघि लाउँदै उनिहरु हाइकिङको सट्टा बौद महाचैत्यको परिक्रमा (कोरा)मा भेटिएका हुन् । “कोरा पनि एक प्रकार हाइकिङ नै हो,’ उनिहरु मध्ये साहित्यकार अनिता लामाले भनिन्, ‘झन् यो सांस्कृतिक र आध्यात्मिक चेतना सहितको हाइकिङ हो ।’
कला, साहित्य र रंगमञ्चमा स्थानिय सम्पदा र संस्कृति प्रवद्र्धन गर्ने ध्येयले सुरु भएको ‘जेसुम यात्रा’ को पाँचौं शृंखला अन्र्तगत आफूहरु राजधानीको बौद्ध महाचैत्यमा आईपुगेको अभियान संयोजक समेत रहेकी अनिताले बताईन् ।
यस पटक सोनाम ल्होछारको सन्दर्भ समेत पारेर बौद्धको सिर्जना यात्रामा निस्कीएको उनले स्पष्ट पारिन । कवि, लेखक, चित्रकार एवं रंगकर्मी सम्मिलित यो यात्रा खासमा हाइकिङ गर्दै स्थानीय सम्पदा र संस्कृति खोजी गर्ने अभियान रहेको साहित्यकार फूलमान बलले बताए ।
बौद्ध तामाङ कल्याण गुठीको सहकार्य रहेको यस पटकको यात्रा अन्तर्गत कोरापूर्व उनिहरुले स्थानिय बुद्धिजीबिहरुसँग बौद्धनाथको ईतिहास र स्थानिय जनजीवनबारे भलाकुसारी गरेका थिए ।
“बौद्धनाथ क्षेत्र अहिले खुम्चीदै गएको छ, यो पवित्र ठाउँमा संसारभरका मान्छेहरु आउँछन्,हिजो स्थानिय तामाङ समुदायकाहरु धेर हुन्थे आज चिनीयाँहरु आउँछन् बढि,आईरक र तामाङ समुदायको अनन्य सम्बन्ध पनि देख्छु,यहाँको संस्कारभित्र पर्ने कुरा हो जसलाई संसारले स्वीकारेकै छ, यिनै कुराहरु पनि आउनुपर्छ है तपाईहरुको सृजनामा ।” – कुनै बेला सृजना कलामा पनि जमेका सांसद राईले भलाकुसारी लगत्तैको कोरामा भेटिएका भने ।
एक घण्टाजत्ति कोरा गरेपछि चित्रकार र कविहरूले स्थलगत सिर्जना गरेका थिए । स्थलगत सिर्जना पछि कवि गोष्ठीनै चल्यो । गोष्ठीमा कवि अनिताले ‘नाङसाल’ (बत्ती) शीर्षकमा बौद्धनाथ आसपासको परिदृष्य सिर्जनामा उतारेकी थिइन् । बरिष्ठ पत्रकार एवम् साहित्यकार फूलमान बलले नकारात्मक मन प्रवृत्ति हावी हुदै गएको समयमा बुद्ध दर्शनको महत्व दर्शाउने ‘मलाई माफ गर ज्याजिमा’ कविता सुनाए ।
प्राज्ञ एवं कवि शशी लुमुम्बुले ‘आदिम गीत’ शीर्षकमा विश्व सम्पदामाथि कोरेका थिए भने विना थिङले ‘छ्युमी’ शीर्षकको सिर्जना सुनाइन् ।
रमेश कँडेल, शुक्र राई, विनु पोखरेल, गायत्री धिताल, वीरवल तामाङ, धर्मनन्द भट्ट, विपाशसना पोखरेल लगायतले आ–आफ्ना सिर्जना सुनाउँदै गर्दा चित्रकारहरू एनबी गुरुङ, डिराम पाल्पाली, डिबी राई, विनोदकुमार गुप्ता र दीपेन्द्रमान बनेपालीले आआफ्ना सिर्जना प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीकै क्रममा चित्रकार डिराम पाल्पालीको बौद्ध ल्यान्डस्केप चित्रलाई एक ताइवानी नागरिकले १५ हजार रुपैयाँमा खरिद गरेका थिए । उनले त्यसबाट ३ हजार जेसुम यात्रालाई दिने घोषणा पनि गरे ।
सिर्जनापछि चित्र प्रदर्शनीसँगै कविता वाचन कार्यक्रम चलरिहदा उक्त यात्रामा साथ दिन प्रदेश सांसद छिरिङ दोर्जे लामा पनि आईपुगे ।
बौद्धनाथ क्षेत्र विकास समितिको तत्कालिन कार्यकारी निर्देशक समेत रहेका उनले बौद्धनाथ क्षेत्रको विकासले फराकिलो रुप लिएको दावी गर्दै यसमा सकारात्मक उर्जा दिनेगरी आएको ‘जेसुम यात्रा’को प्रशंसा गरे ।
विश्व सम्पदा सूचीमा परेको बौद्धनाथको सौन्दर्य, यसको सांस्कृतिक, धार्मिक महत्व, उत्पत्ति कथादेखि पछिल्लो सन्दर्भ समेत समेटेर लेखेका कविता सुनेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । चित्रकारहरूले वाटर कलरको माध्यमबाट क्यान्भासमा उतारेका चित्रले पनि बौद्धको यथार्थता बोलेको उनले बताए ।
समाजसेवी नेपालजीत लामाले यो यात्रा समाजको सकारात्मक परिवर्तनमै केन्द्रित देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । साहित्यकार समेत रहेका उनले विगतलाई स्मरण गर्दै भने–“हिजो पनि हामी परिवर्तनकै लागि कलम चलाउँथ्यौं,आज समृद्धि ल्याउन सकारात्मक उर्जा र सोचसहितको यात्रा आवश्यक छ,जेसुम यात्रालाई शुभकामना छ ।”
स्थलगत सिर्जना अघि कवि तथा चित्रकारहरूलाई बौद्ध महाचैत्यको इतिहास र रोचक सन्दर्भहरूबारे बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा र बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले प्रकाश पारेका थिए । बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बौद्धनाथ क्षेत्रको विकासमा गरेको संघर्षबारे पनि बताए । उनले बौद्धनाथको उत्पतिबारे प्रचलित किम्बदन्तीहरु समेत सुनाए ।
भिडियो हेर्नुहोस्
तामाङ बौद्ध कल्याण गुठीका अध्यक्ष खड्गजीत लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा लगायतले सकारात्मक दृष्टिकोणका साथ अघि बढेको जेसुम यात्राबाट बौद्ध क्षेत्रलाई विश्वसामु चिनाउन र पर्यटन प्रवद्र्धन तथा थप विकासमा चिन्तन गर्ने स्थिती पैदा गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष दीपेन्द्र लामा,सञ्चारकर्मी वीरबहादुर वाइबा, ओम तामाङ सुखःदुख सेवा गुठीका सुरज लामा लगायतले पनि स्रष्टाहरूको सिर्जनाप्रति प्रतिक्रिया दिए ।
थप फोटो फिचर