- कृतिका घलान
काठमाण्डौं–तामाङ कथानक चलचित्र ङ्हो(भाग्य) निर्माण कार्य सम्पन्न भएको छ । तामाङ भाषा,कला,संस्कृति जगेर्ना गर्नुका साथै पुस्तान्तरणका लागि टेवा पुर्याउने गरी चलचित्र निर्माण गरिएको निर्माण पक्षले शुक्रबार चावहिलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषा मुख्य र आंशिक रुपमा नेपाली(खस) भाषा प्रयोग गरी अंग्रेजीमा सवटाइटल समेत राखिएको चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको व्यानरमा सुनिमाया तामाङले निर्माण गर्नुभएको हो ।
भुवन स्याङ्बो तामाङको कथा,नृत्यका साथै निर्देशनमा आरम्भ तामाङ,किसमान तामाङ,निर्मला तामाङ,एलेक्स घले,छिमी माम्बा,तेन्जिङ सोनामले मुख्य अभिनय गरेको यो चलचित्र नयाँ वर्षको उपलक्ष्यमा बैशाख ७ गते शनिबार राष्ट्रिय सभागृहमा विशेष शो गरिने जानकारी दिइएको छ ।
सैलुङ अनलाईनको संयोजनमा भएको पत्रकार सम्मेलनमा तामाङ चलचित्र क्षेत्रका अभिभावक,बरिष्ठ संगीतकार तथा गायक जयनन्द लामाले यो चलचित्र सन्देशमुलक हुने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले यसखाले मौलिक चलचित्रका गीत संगीतको पाटोमा पनि मौलिक शब्द तथा संगीतको प्रयोग गर्न सकिन्छकी भन्ने धारणा राख्नुभयो ।
भिडियो हेर्नुहोस्
तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले चलचित्र प्रदर्शन तथा बजार प्रवद्र्धनमा सघाउन चलचित्र संघ तयार रहेको प्रतिबद्धता जनाउनुभयो । यस चलचित्रको नाम ‘ङ्हो’ जुराएकोमा यसको अर्थ ‘भाग्य’ नभई ‘निधार’ पो होकी भन्ने बुझिन जाने खतरा रहेको औंल्याउदै चलचित्रको नाममानै पुनःविचार गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो ।
भिडियो हेर्नुहोस्
चलचित्र युनिटका तर्फबाट निर्देशक भुवन स्याङबो तामाङका साथै नायक किसमान तामाङ ,आरम्भ तामाङ लगायतले आफूहरुको यो पहिलो पटकको काम भएपनि मिहेनत गरेको बताउनुभयो । चलचित्रमा देखाईएको त्रिकोणात्मक मायाप्रेमको कथाले मसलाको काम गर्ने उल्लेख गर्दै निर्माण टोलीले तामाङ समुदायमा रहेका स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साईनोबिच देखिन थालेको अज्ञानता र दुविधाले समाजमा पारेको समस्याबारे चिन्तनको स्थिती पैदा गराउने दावी गरे ।
भिडियो हेर्नुहोस्
तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबाले चलचित्र समाजको दर्पण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । बरिष्ठ नायिका चाँदनी मोक्तानले तामाङ चलचित्रलाई व्यवसायिक धारमा मर्यादित ढंगले अघि बढाउन चलचित्र कलाकर्मी र सञ्चारकर्मीहरु बिचको दुरी कम हुनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा यस चलचित्रको ‘कादे ज्याबा ह्याङला माया’ बोलको गीत तथा भिडियो समेत सार्वजनिक गरियो ।
भिडियो हेर्नुहोस्
नरमान(रविन) तामाङको पटकथा,राजु तामाङको द्धन्द र शर्मिला गुरुङ,निर्मला आचार्य तथा दिपेन्द्र हमालको श्रृंगार रहेको चलचित्रलाई राहुल राई र सुर्य लामाले क्यामेराकैद गर्नुभएको हो ।
धादिङको गंगाजमुना गाउँपालिका,लताव,धुसेनी,तावल,काठमाण्डौंका केहि क्षेत्र र सिन्धुपाल्चोकको गुफाडाँडामा छायांकन गरिएको यस चलचित्रमा म्हारम्हेन वाइबा,अनिता तामाङ,डोल्मा तामाङ,राजन तामाङ,निलमान तामाङ,रोज तामाङ,रिमान तामाङ,विजय तामाङ,झरना गुरुङ,सुमि तामाङ लगायतले पनि अभिनय गर्नुभएको छ ।
फूलकुमार बम्जनको शब्द,टिका बम्जन र सागर एस वाईबाको संगीतमा टिका र सागर स्वयम्का अलावा जितु लोप्चन र आरम्भ तामाङले यस चलचित्रका गीत गाउनुभएको छ ।