• नमोबुद्ध संवाददाता

काठमाण्डौं–अन्तराष्ट्रिय मातृभाषा दिवस बिहिबार नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईएको छ । दिवसको अवसरमा देशका विभिन्न भागमा छलफल,गोष्ठी,अन्तरक्रिया,र्याली तथा उत्सवहरुनै आयोजना गरिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका विभिन्न मातृभाषाहरुको कविता महोत्सवनै आयोजना गर्यो । महोत्सवमा नेपालका ३६ भाषाका ४४ कविता बाचन गरिएको छ ।

मातृभाषा दिवस समारोह एवम् मातृभाषा कविता महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषा संरक्षणका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । बङ्गलादेशमा भएको भाषा आन्दोलनको स्मरणमा हरेक वर्षको फेब्रुअरी २१ मा भाषा दिवस मनाईदै आएको उल्लेख गर्दै उहाँले भाषा बाँचे मात्रै जाति बाँच्ने दावी गर्नुभयो ।
प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले नेपालका साहित्य,कला संस्कृतिको प्रवद्र्धनमा प्रतिष्ठान क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–“हामीले महोत्सवमा झाँकीहरुलाई पनि समेट्न थालेका छौं,यो पटक जातिय पहिचान झल्किने साँस्कृतिक झाँकीको संख्या पनि बढेको छ,यसले पनि भाषा,सँस्कृति तथा आफ्ना पहिचानप्रति थप चिन्ताबोध गराएको मान्न सकिन्छ ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले मातृभाषा बचाउ हामी आफैबाट गर्न आवश्यक रहेको बताउनुभयो । घर घरमा आ–आफ्ना भाषालाई व्यवहारिक प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीले आजको दिन आफू रंगीचंगी फूलहरुको फूलबारीमा आएको महसुस गरेको बताउनुभयो । विभिन्न समुदायमा देखिएको साँस्कृतिक जागरणप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।
प्राज्ञ शशि लुमुम्बुले कार्यक्रमको सञ्चालन गर्नुहुदै पछिल्लो समय प्रतिष्ठान व्यापक ढंगले लागेको बताउनुभयो । उहाँले महोत्सवमा वाचित कविताहरु पुस्तकको रुपमा प्रकाशन गरिने उल्लेख गर्नुभयो ।
अन्तराष्ट्रिय मातृभाषा दिवस समारोह तथा कविता महोत्सवको उद्घाटनपूर्व विहान ११ बजे विभिन्न जातजातिको पहिचान झल्किने झाँकी सहितको र्याली निकालिएको थियो । प्रतिष्ठान भवन कमलादीबाट सुरु भएको र्याली घण्टाघर,बागबजार हुदै प्रतिष्ठानमै पुगेर समापन गरिएको थियो ।

तामाङ,नेवार,धिमाल,सुनुवार,शेर्पा,राई,भोजपुरी लगायतका ति विभिन्न १३ जातजातिका साँस्कृतिक झाँकी औपचारिक समारोहमा समेत प्रस्तुत गरिएको थियो ।
विभिन्न जातजातिको र्याली भिडियो हेर्नुहोस्

थप फोटो फिचर  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !