- नमोबुद्ध संवाददाता
बनेपा–काभ्रेको बेथानचोक गाउँपालिका ४ छत्रे पाटीखर्कमा रहेको तिलेश्वर महादेव मन्दिर प्रवद्र्धनका लागि स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सगं महायज्ञ हुने भएको छ । यहि फागुन १३ देखी २१ सम्म चल्ने महायज्ञको तयारी सुरु भएको जानकारी आईतबार बनेपामा पत्रकार सम्मेलन गरी दिइएको हो ।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष कृष्णवहादुर तामाङले तिलेश्वर मन्दिरको भौतिक विकास र प्रचार प्रसारमा केन्द्रित गर्ने गरी महायज्ञ गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“ अनौठो लाग्ने गरी गाईको दूधको थुनजस्तै ठाउँबाट सेतो पानी चौविसै घण्टा आईरहने गुफा जस्तो ठाउँ छ,यो महादेव बस्ने गुफा हो भन्ने कुरा पत्ता लागेको वर्षौं भयो तर यसको प्रचार प्रसार गरी पर्यटक भित्राउन सकिरहेको छैन,अहिले यसमा हाम्रो ध्यान गएको हो ।”
उहाँका अनुसार कथा व्यास राष्ट्रिय विभुषित नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीको मुखार विन्दबाट हुने महायज्ञबाट उठेको दान मन्दिरको संरचना निर्माण तथा बाटोघाटो निर्माणमा खर्चिनेछ । महायज्ञबाट करिब २ करोड दान संकलन हुने अपेक्षा गर्दै उहाँले सबै दान पारदर्शि ढंगले विकास निर्माणमै खर्चिने प्रतिवद्धता जनाउनुभयो ।
यो सामाजिक तथा धार्मिक कार्य भएको उल्लेख गर्दै उहाँले सहयोगी दानवीरहरुको नाम शिलालेखमा उल्लेख गर्ने तथा सम्मान अर्पण गर्ने बताउनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सीनाले तिलेश्वर मन्दिर बेथानचोक गाउँपालिकाको पनि निधि रहेकोले गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महायज्ञमा बुद्ध दर्शन प्रवचन समेत हुने
स्थानिय बौद्धमार्गीहरुको भावनाको सम्मानका लागि उनिहरुलाई लक्षित गर्दै महायज्ञ अवधिभर बुद्ध दर्शनबारेको प्रवचन समेत दिईने आयोजकले जनायो । अध्यक्ष कृष्ण बहादुर तामाङले भन्नुभयो–“थुप्रै तामाङ समुदाय पनि छन् , यो धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउने अवसर पनि हो,धर्मले दिने सन्देश त आखिर एउटै त होनी ।” महायज्ञको प्रत्येक दिन स्थानय लामा क्षेत्रबहादुर लामाबाट बुद्धदर्शन प्रवचन हुने उहाँले बताउनुभयो ।
तिलेश्वर महादेवको किम्बदन्ती र महायज्ञबारेको भिडियो सामाग्री हेर्नुहोस्