
- नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिकाले आफ्नो ३३ औं स्थपना दिवस आईतबार मनाएको छ । दिवस समारोहको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समुद्घाटन गर्दै यहि अवसरमा नगरलाई साक्षर नगर घोषणा पनि गर्नुभयो । करिब ९८ प्रतिशत नागरिक साक्षर भएको निश्कर्ष सहित धुलिखेललाई साक्षर नगर घोषणा गरिएको हो ।
समारोहलाई सम्बोभन गर्ने क्रममा मन्त्री बाँस्कोटाले धुलिखेल नगर समृद्धिको बाटोमा लागेकोमा खुसी व्यक्त गर्नुभयो । सुचना प्रविधिको अधिकतम प्रयोग,साक्षरता,पर्यटकिय विकास लगायतमा जिल्लाको अन्य स्थानिय तहलाई पनि धुलिखेल नगरपालिकाको कामबाट उत्प्रेरणा मिल्ने उहाँको भनाई छ ।
उहाँले धुलिखेल नगर र दक्षिण कोरियाली नगरसँगको भगीनि सम्बन्ध घोषणा भएकोमा शुभकामना व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले यो सम्बन्धबाट दुई पक्षलेनै फाईदा हाँसील गर्ने विश्वास व्यक्त गर्नुभयो । धुलिखेल नगरको समृद्धिको परिकल्पना पूरा गर्न अन्तराष्ट्रिय सम्बन्धहरुले सकारात्मक काम गर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो–“हिजोका दिनमा कोरिया पनि कमजोर थियो,आज त्यहाँ भएको विकास निर्माणलेनै फड्को मार्यो,यसबाट हामीले पनि सिक्न जरुरी छ, दुई नगरबिचको समझदारीपूर्ण सम्बन्धले दुई पक्षलाई नै फाईदा पुग्ने विश्वास लिएको छु ।”
उहाँले सरकार स्थानिय तह यसरीनै सक्रियतापूर्वक जनताको मनमनमा रहने गरी अघि बढेको हेर्न चाहेको र यसमा संघको साथ रहने बताउनुभयो । सरकारले कहि नगरेको भन्ने भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै उहाँले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख अशोक व्यञ्जुले हिजो केहि गाउँ पञ्चायत मिलेर स्थापना भएको नगरको क्षेत्र विस्तासँगै विकास निर्माण र प्रशासनिक सेवालाई पनि व्यापकता दिदै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“हामी आज हरेक टोल,समुदाय बस्ती बस्तीमा पुगेका छौं,विकास निर्माण र सेवामा जनताको प्रत्यक्ष पहुँच विस्तारमा छलाङ मार्ने उद्धेश्यले आदिवासी जनजाती परिषद,युवा तथा शिक्षा परिषद जस्ता जनपरिषदहरु बनाएर योजना निर्माण तथा तर्जुमा गर्ने अभ्यासको थालनी भएको छ । ”
कोरियाको २ नगरसँग सम्बन्ध बिस्तार पनि धुलिखेल नगरलाई सुन्दर नमुना नगरको रुपमा विकास गराउनकै खातिर भएको उहाँले स्पष्ट पार्नुभयो । व्यञ्जुले नगरले बनाएको अल्पकालीन र दिर्घकालीन योजनाहरु कार्यन्वयको अवस्थाको बारेमा जानकारी दिदै धुलिखेल नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने, एकीकृत नगर विकास योजना तर्जुमा गर्ने, पाँचवर्ष भित्र सम्पूर्ण धुलिखेलबासीलाई स्वच्छ खानेपानी पुर्याउने बताउनुभयो ।
उहाँले धुलिखेललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, धुलिखेललाई सुरक्षित, व्यवस्थित, सुविधा सम्पन्न, आकर्षक आवास केन्द्रको रुपमा विकास गर्ने, फोहर मैलाको दिगो व्यवस्थापन गर्ने, सम्भावनाको आधारमा एक वडा एक कषि उत्पादन नीतिलाई जोड दिने लगायतका कार्यक्रमहरु घोषणा गरेको उल्लेख गर्नुभयो । समथै उहाँले नगरले हालसम्म सम्पन्न भएका र हुँदै गरेको महत्वपूर्ण कार्यहरुको विवरण समेत सार्वजनिक गर्नुभयो ।
नगर स्थापना कालका संस्थापक वेलप्रसाद श्रेष्ठ लगायतको योगदानप्रति स–धन्यबाद ज्ञापन गर्दै उहाँले धुलिखेलको मुहार फेरेर छाड्ने प्रतिवद्धता जनाउनुभयो । २०४३ साल फाल्गुण ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरि धुलिखेल नगरपञ्चायतको गठन गरेको दिनलाई नगरले स्थापना दिनको रुपमा मनाउँदै आएको हो ।
समारोहमा धुलिखेल नगरको सांस्कृतिक विविधता र सद्भाव झल्कीने झाँकी प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नुहोस्
नगरको स्थापना दिवसको अवसरमा यो पटक पनि विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । यो पटकको लाईफटाईम अचिभमेन्ट अवार्डबाट काठमाण्डौं विश्वविद्यालयका संस्थापक उपकुलपति पा.डाक्टर सुरेशराज शर्मालाई दिइएको छ । यसका साथै कर्मचारी प्रशासन,सञ्चार,नगरभित्र जन्मेर उल्लेखनिय काम गरेका प्रतिभाहरुलाई पनि विभिन्न अवार्ड तथा सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।
नगरको स्थापना दिवस एवम् साक्षर नगर घोषणा समारोहपूर्व वसपार्क,सरस्वतीबजार हुदै नगरपालिका चौरसम्म विभिन्न जातजाति,भाषाभाषि लगायतको सहभागितामा वृहत र्याली निकालिएको थियो ।