• कृतिका घलान :

धुलिखेल–सोनाम ल्होछार काभ्रेको धुलिखेल नगरपालिका ०१ देविटारमा भव्यताका साथ मनाईने भएको छ । यो अवसरमा सुनौलो देविटार युवा क्लवको आयोजना र धुलिखेल नगरपालिकाको सहआयोजनामा फागुन ४ गते शनिबार विहान ९ बजेपछि स्थानिय बगैंचाचौरमा एक औपचारिक समारोहनै गरिदैछ । प्रचारप्रसार,अतिथिहरुलाई निमन्त्रणा,स्वागत सत्कार,मन्त्र–मोलम,झाँकी लगायत सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विजय लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यता तथा पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको विशेष आतिथ्यतामा चर्चित सेलो कलकारहरु र स्थानियको वृहत सहभागितामा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने तय भएको हो ।

कार्यक्रममा तामाङ सेलो कलाकारहरु इन्दिरा गोले,विश्व दोङ,विशाल काल्तानका साथै बैरागी मोक्तान,शर्मिला थिङ,संजीव स्याङतान लगायतले कार्यक्रममा सांगीतिक माहौल तताउनुहुनेछ । हाँस्य कलाकारहरु ज्याक गुरुङ(झिम्के),लेख बहादुर मोक्तान(टिमुर्के),जादुगर राजेन्द्र गिरी(गुन्द्रुके)ले हाँस्य प्रश्तुती दिनुहुनेछ । साथै ऋतुराज पाख्रिन,वर्षा थिङ,रिया श्रेष्ठ लगायतको कलाकौशल पनि देर्शकहरुले हेर्न पाउँनेछन् ।

कार्यक्रममा सांस्कृतिक झाँकी प्रश्तुतीका साथै ल्होछार सँस्कृतिको संस्थागत विकासमा टेवा पुग्ने खालका गतिविधिहरु गरिने आयोजकको भनाई छ ।

हिमाली तथा तामाङ समुदायको सांस्कृतिक पर्वलाई पुनःजागृत गराउने क्रममा ल्होछार पर्व गाउँगाउँमा पुनःस्थापित गराउन आवश्यक ठहरिएअनुसार यस मुताविकको चेतना प्रवाह गर्न पनि ल्होछारको अवसरमा औपचारिक कार्यक्रम जोडिएको अध्यक्ष लामाले बताउनुभयो । यसरीनै ल्होछार घरघरमा पुग्न सहयोग मिल्ने उहाँको तर्क छ ।

तामाङ समुदायले यो पटक २८५५ औं फाग् ल्हो(वर्ष) लाई स्वागत गरिरहेका छन् । तिथी र मितिमा तलमाथि नभए मञ्जुश्री पात्रो एवम् चन्द पात्रो अनुसार यो समुदायले प्रत्येक माघ शुक्ल प्रतिपदाका दिन ल्होछार अर्थात नयाँ वर्ष सुरु भएको मान्दछन् ।

प्रतिक्रिया दिनुहोस !