- नमोबुद्ध संवाददाता
रुपन्देही–सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारप्रति केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भईरहेको आरोप लगाउनुभएको छ । प्रतिपक्षकाका त्यस्ता कुराको मिडियाले समेत पक्षपोषण गरेको उहाँको भनाई छ । सरकारका प्रवक्ता समेत रहनुभएका बाँस्कोटाले सरकारले राम्रा कामहरु गरिरहेको भएपनि मिडियाले त्यसबारे नलेखेको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभामा मन्त्री बाँस्कोटाले भन्नुभयो–“मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक मात्रै देखाउँछन् तर सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।”
दुई तिहाई बहुमतको सरकारका कामबाट असन्तोष हुने अवस्था नरहेको भन्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक प्रणालीमा सरकारले ड्यामका ड्याम काम गर्न भने नसक्ने बताउनुभयो । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उहाँले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले लोकतन्त्र कसैको निजि सम्पति नरहेको बताउनुभयो ।
सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्लाको पछि नलाग्न मन्त्री बाँस्कोटाको आग्रह छ ।