नमोबुद्ध संवाददाता :

धुलिखेल–२८५५ औं फाग् सोनाम ल्होछारको अवसरमा काभ्रेको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेसीमा वृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । डाँडापारी सोनाम ल्होछार आयोजक समिति,खुसी समाज युवा क्लव,रोशी क्लव,उत्पीडित जागरण नेपाल काभ्रे लगायत संस्थाहरुको सह–आयोजनामा चर्चित कलाकारहरुको कला प्रस्तुती सहितको ल्होछार कार्यक्रम हुन लागेको हो ।

माघ २९ गते विहान ११ बजे प्रमुख अतिथिको रुपमा पूर्व सभासद तिर्थ लामाद्धारा उद्घाटन गरिने कार्यक्रमको तयारी लगभग सकिएको तामाङ फाउण्डेशन जिल्ला समन्व समिति काभ्रेका अध्यक्ष सुनिता दोङले जानकारी दिनुभयो । कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुतीका साथै चर्चित कलाकारहरु सञ्जीव वाईबा,विश्व दोङ,विशाल काल्तान,निमा दोङ,विशाल थिङ,जितु लोप्चनका साथै स्थानिय कलाकार विजय थोकर,कोशिस थोकर लगायतका कलाकारहरुले सांगीतिक माहौल तताउनेछन् ।

साथै नायिकाहरु चाँदनी मोक्तान,संगीता दोङ,उर्मिला वाईबा,नायक अमिर दोङ,कुमार मोक्तान लागयतले पनि आफ्ना कलामार्फत दर्शकहरुलाई मनोरञ्जन दिने फाउण्डेशन जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दोङले बताउनुभयो ।

उहाँले भन्नुभयो–“हामीले हाम्रो सांस्कृतिक पर्वलाई पुनःजागृत गराउने क्रममा गाउँगाउँ पुर्याउन आवश्यक छ न कि टुडिखेलमा मात्र,यहि क्रममा हामीले भकुण्डेवेसीमा कार्यक्रम गर्न लागेका हौं,तेमाल,रोशी भेग तथा डाँडापारीसम्मका स्थानिय यो कार्यक्रममा सहभागि हुने अपेक्षा गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस !