नमोबुद्ध संवाददाता :
भोजपुर–अरुण गाउँपालिका–५, कट्टीस्थित पञ्चकन्या आधारभूत निम्न माध्यमिक विद्यालयकी शिक्षिका तथा कवि प्रतिमा पोखरेलको सौजन्यमा असहाय तथा अभिभावकविहीन १२ जना बालबालिकालाई पोसाक तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ विद्यालयको ५९ औँ वार्षिक उत्सव समारोहकाबिच सोमबार शिक्षिका तथा कवि पोखरेलको सहयोग सामग्री प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद लोकमणि ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर राई र प्रधानाध्यापक शालिकराम ढकाललगायतले उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । पूर्व सांसद ढकालले सहयोगका लागि शिक्षिका पोखरेललाई धन्यवाद दिदै भन्नुभयो–“मनकी धनी प्रतिमा मिसबाट हामीले पनि समाजसेवा सिक्नु जरुरी छ ।” उहाँले शिक्षिका तथा कविको यस कार्यले आफूहरुको पनि आँखा खुलेको बताउनुभयो ।
असहाय तथा अभिभावकविहीन बालबालिकालाई थोरै भए पनि राहत पुगोस् र उनीहरूलाई पढ्न हौसला मिलोस् भन्ने उद्देश्यले आफ्नो तलबबाट केही रकम छ्ट्याएर सहयोग गरेको शिक्षिका पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो–“मसँग धन भएर होइन मन यो सानो सहयोग गरेकी हुँ ।” उहाँले गत वर्षबाट यस्तो सहयोग सुरुवात गरेको जानकारी दिनुभयो ।