सजना आचार्य :
खानीखोला–नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूले जनताको पिडा राम्रैसँग बुझेको बताउनुभएको छ । आइृतबार काभ्रेको खानीखाला गाउँपालिकाद्धारा तालढुंगामा आयोजित सोनाम ल्होछार साँस्कृतिक समारोहलाई सम्बोधन गर्दै उहाँले जनताले कत्ति दुःख पाएका छन् भन्ने कुरा आफुले खानीखोला आएरै थाहा पाएको र खानीखोलोको समग्र अवस्थाबारे आफु जानकार रहेको कारण सम्झाउन नपर्नेे बताउनुभएको हो ।
मन्त्री बाँस्कोटाले खानीखोलामा २४ सै घण्टा फोन लाग्ने बनाउनको लागि आवश्यक स्थानमा नयाँ टावरहरु थप्ने जानकारी दिनुभयो । सञ्चारको विकासलेनै मुख्य रुपमा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराउने भन्दै ग्रामिण भेगलाई आधुनिक सुचना तथा प्रविधिको पहुँचमा जोड्ने बताउनुभयो । उहाँले २ वर्षका लागि खानीखोलालाई फ्रि वाइफाई उपलब्ध गराउने तथा खानीखोलाको विद्यालयका लागि ४८ वटा कम्प्युटर सहितको दुईवटा कम्प्युटर ल्याब तत्काल उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो–“सबै चिज एकै पटक हुँदैन, क्रमश हुँदै हो, धैर्य गर्न अनुरोध गर्दछु,ढुक्क हुनुहोस् जनताको काम गर्ने सरकार यहि हो,सरकार सुतेर बस्न सक्दैन ।”
उहाँले भुकम्प पुननिर्माणको कार्य अन्तिम चरणमा पुगेको र इन्जिनियरहरुले मापदण्डका नाममा जनतालाई दुःख दिएको, हैरान बनाएकोमा दुःख व्यक्त गर्दै जनताले आफ्नो खुसीले बनाएको घरलाई पैसा दिनका लागि गाँउपालिकालाई सिफारिस गर्न अनुरोध गर्नुभयो ।
उहाँले सरकारलाई दुई तिहाई दम्भ नभएर यो भन्दा बढि देश र जनताप्रतिको जिम्मेवारी भएको दावी गर्नुभयो ।
उहाँले प्रतिपक्ष दलहरुले जत्तिसुकै विरोध गरेपनि यो सरकार पाँच वर्षसम्म नढल्ने दावी गर्र्दै पाँच वर्षभित्र वृद्ध भत्ता पनि ५ हजार पुर्याउने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा खानीखोला गाँउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले खानीखोलालाई विशेष क्षेत्र घोषणा गर्नको लागि सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटासँग माग गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा बहादुर तामाङ्ग (बमध्वज)ले डाँडापारीको विकासको लागि आफुले केन्द्रमा राखेर बजेटहरु विनियोजन गरेको र आगामी दिनहरुमा पनि खानीखोलाको विकासका लागि विशेष बजेटहरुको व्यवस्था गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य चन्द्र लामाले खोपासी–ताल्ढुङ्गा सडकको ट्रयाक खोल्ने मात्रै नभएर बाटो स्तरोन्तीका लागि केन्द्रिय बजेट २ करोड विनियोजन भएको र प्रदेशबाट उक्त सडकका लागि साँढे ३ करोडको टेन्डर भइसकेको बताउनुभयो ।
डाँडापारीमा केन्द्रिय लाइनको विजुली उपलब्ध गराउनका लागि काभ्रेको डाँडापारि क्षेत्रका महाभारत र खानीखोला लागि केन्द्रबाट १ अरबको बजेट टेन्डर भइसकेको र यो काम २ वर्षभित्र सम्पन्न भई दुबै गाँउपालिकामा केन्द्रिय लाइनको विजुली बत्ति बलिसक्ने दावी उहाँले गर्नुभयो । प्रदेश सांसद लामाले खानीखोलामा हस्पिटल नहुँदा उपचारको अभावका कारण जनताहरुले अकालमै ज्यान गुमाउनु बाध्य हुनुपर्ने समस्याको समाधानका लागि १५ शैयाको हस्पिटल निर्माण गर्न प्रदेशबाट १ करोडको टेन्डर भइसकेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा भाषा आयोगका उपसचिव लोक बहादुर लोप्चनले खानीखोला गाँउपालिका भित्र रहेका दुईवटा विद्यालयहरु जन विकास उच्च मावि र बाल विकास माविका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका दुई दुई जना विद्यार्थिहरुलाई वार्षिक पाँच पाँच हजार छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खानीखोला साक्षर गाउँपालिका
गाँउपालिकाले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमकैबिच गाउँपालिकालाई पुर्ण साक्षर गाँउपालिका घोषणा पनि गरिएको छ । गाउँपालिकाभित्रका ९५ प्रतिशतभन्दा बढि नागरिक साक्षर भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष कृष्ण खुलालले जानकारी गराउनुभयो । मन्त्री गोकुल बास्कोटाले गाँउपालिकालाई पुर्ण साक्षर गाँउपालिका घोषणा गर्नुभएको हो ।
शिक्षा विभाग तथा समन्वय इकाई काभ्रेका प्रमुख डिक बहादुर राईले काभ्रेको दुर्गम क्षेत्र भएपनि स्थानिय तहमध्ये खानीखोला दोस्रो नं.मा र गाँउपालिकामध्ये पहिलो नम्बरमा पुर्ण साक्षर गाँउपालिका घोषणा गर्न सफल भएकोमा गाँउपालिकालाई धन्यवाद दिनुभयो । कार्यक्रममा साहित्यकार योगेश राल्फालीको १२ औँ कृति गजल संग्रह “भोको पेट” विमोचन गरिएको थियो ।
ल्होछारको रमाईलो माहौल
तालढुंगामा आयोजित २८५५ औं फाग् सोनाम ल्होछार औपचारिक कार्यक्रमसँगै माहौल सँस्कृतिमय बनेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय डान्सिङ रियालिटि सो ‘बुगीवुगी’का सेकेन्ड रनर अप सरोज मोक्तनले आफ्नो डान्स प्रस्तुत गर्नुभयो । त्यस्तै अन्य कलाकारहरुमा गायक विशाल थिङ्ग र मदन घलानले सेलो गित र दोहोरी गायक विक्रम गौतमले दोहोरीमार्फत मनोरञ्जन दिलाउनुभयो ।
नेपालका कान्छो जादुगर गणेश केसीले जादु देखाएर सबैलाई अचम्मित पार्नुभयो भने कमेडियन कलाकार भगवान खत्रीले आफ्नो कमेडी प्रस्तुत गरेर दर्शकलाई पेट मिचिमिच हसाउँनुभयो । कार्यक्रममा परिवर्तन सांस्कृतिक समुहद्धारा तामाङ्ग सेलो गीतमा सामुहिक तथा एकल नृत्य प्रस्तुत गर्नुका साथै जन विकास उच्च माविका विद्यार्थीहरुले स्वागत गीतसँगै नृत्य प्रस्तु गरे ।
कामको मुल्यांकन,प्रतिभाको सम्मान
कार्यक्रममा खानीखोलामा जन्मिएर नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत भाषा आयोगको उपसचिव बन्न सफल हुनुभएकोमा भाषा आयोगका उपसचिव लोक बहादुर लोप्चनलाई सम्मान गरिएको छ । साथै तामाङ्ग साहित्यमा योगदान पुर्याएकोमा खानीखोलाका साहित्यकारहरु योग बहादुर घिसिङ्ग, हिरामाया घिसिङ्ग तथा टिका ब. थिङ्गलाई सम्मान गरिएको छ ।
त्यस्तै एसइइ २०७४ मा गाँउपालिका उत्कृष्ट हुन सफल भएकोमा छात्रतर्फ विजय वाइवा र छात्रा तर्फ एलिना, मावि शिक्षकका तर्फबाट उत्कृष्ट शिक्षकका रुपमा जन विकास उच्च माविका शिक्षक शेखर नेपाललाई , प्रावि शिक्षकतर्फ उत्कृष्ट शिक्षकमा जन विकास उच्च माविका शिक्षक रेशम बहादुर बललाई, निमावि शिक्षकतर्फ उत्कृष्ट शिक्षकमा जनहित माविका शिक्षक केशव थापा मगरलाई सम्मान गरिएको छ ।
उत्कृष्ट विद्यालयतर्फ सरस्वती आधारभुत विद्यालय तथा जन विकास उच्च मावि, विद्यालय व्यवस्थापन समितितर्फ भोज बहादुर तिमल्सिना, सामाजिक संघसंस्थातर्फ परिवर्तन सामुदायिक अध्ययन केन्द्र तथा ग्रामीण विकास केन्द्रका सुमन थोकर सम्मानित हुनुभयो । साथै खानीखोला गाँउपालिकालाई पुर्ण साक्षर बनाउने कार्यमा योगदान गरे वापत् खानीखोलाका सबै वडा अध्यक्षहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको खानीखोला गाँउपालिका सोनाम ल्होछार मुल आयोजक समितिका संयोजक मान बहादुर गोलले जानकारी दिनुभयो ।