नमोबुद्ध संवाददाता :
धुलिखेल– “तामाङ कला र संस्कृति सम्वद्र्धनका लागि मनाऔं सोनाम ल्होछार , शान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास” भन्ने मुल नाराका साथ काभ्रेको धुलिखेलमा शुक्रबार हुने ल्होछार तथा खाना महोत्सवको तयारी सकिएको छ ।
विहान ९ः३० पछि साँस्कृतिक र्याली तथा झाँकी सहित सुरु हुने महोत्सवको खाना र भेषभूषा स्टल निर्माण,स्टेज निर्माण,अतिथि एवम् कलाकार निमन्त्रणा लगायतको तयारी पुरा भएको आयोजक समितिका मुख्य संयोजक सिवि तामाङले जानकारी दिनुभयो ।
मुख्य कार्यक्रम संयोजक तामाङको भनाई छ–“ल्होछारलाई हामीले साझा बनाउन खोजेका छौं,विविधताले भरिएको मुलुकमा एक समुदायले अर्को समुदायसँग दुखःसुख साट्ने परम्परालाई बचाउन जरुरी छ, त्यसैले हामीले वृहत साँस्कृतिक कार्यक्रमका साथै तामाङको परिकारका अलावा नेवारी समुदायमा प्रचलित खानेकुराका परिकार सहितको खानाका स्टलहरु पनि समेट्नेछौं साथै विविध समुदायका कलाकारहरुलाई पनि निम्ता गरेका छौं,सबैले रम्न पाउनुहुनेछ ।”
धुलिखेल बसपार्क(अरनिको सालिक छेउ) गरिने २८५५ औ फाग (ढ्वा) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवम् खाना महोत्सव नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमीटीको आयोजना तथा धुलिखेल नगर जनजाती परिषदको सह–आयोजनामा धुलिखेल नगरपालिकाको मुख्य सहयोग,Nepal Ice को मुख्य प्रायोजन एवम् स्थानिय होटल लगायतको सहप्रायोजनमा हुन लागेको हो ।
के छन् कार्यक्रमका आकर्षणहरु ?
पाहुनाको आगमन,लामागुरुको प्रवचन र झाँकी : नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुको प्रमुख आतिथ्यता र अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको विशेष आतिथ्यतामा हुने कार्यक्रममा विशिष्ट पाहुना लामागुरुद्वारा प्रवचन,स्थानीय लामागुरुहरुद्वारा पुजापाठ, तामाङ कला संस्कृति झल्कीने विभिन्न झाँकी, स्थानिय मौलिक नाचहरु प्रदर्शन गरिनेछ ।
कलकाकारहरुको सांगितीक धमाका : कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, इन्दिरा योञ्जन लागयतले आफ्ना चर्चित गीतहरुद्धारा माहौल तताउनुहुनेछ । साथै श्री थापा मगर,सानुमाया वाईबा,सावित्री रानामगर,अनिशा तामाङ,उदेश श्रेष्ठ,जिदान तामाङ,आशिष तामाङ लगायत दर्जनबढि स्थानीय कलाकारहरुले पनि आफ्रना प्रस्तुती दिनुहुने प्रेस संयोजक अञ्जली लामाले बताउनुभयो ।
मौलिक पहिरन र खानेकुराको मज्जा : मुख्य कार्यक्रम संयोजक सिवि तामाङका अनुसार महोत्सवमा विभिन्न खानेकुरा,पहिरन,मौलिक बस्तुका करिब २० वटा स्टलहरु तयार भएका छन् । जहाँ तामाङ तथा हिमाली समुदायको आलुम,रोटी,खाप्से,बाबरी,तेमे जस्ता मौलिक खानेकुराका साथै स्थानिय नेवार समुदायमा प्रचलित खानेकुराका परिकार र केहि स्थानिय होटलका आधुनिक खानाका परिकारहरु हुनेछन् ।
महोत्सवमा तामाङ तथा आदिवासी समुदायमा प्रचलित कुलागी,स्ह्यामा,आङ्रे,हाकुपटासी जस्ता पहिरनका साथै डम्फू टुङना लागयतका परम्परागत बाजागाजा समेत प्रदर्शनी र विक्रिवितरणका लागि हुनेछन् ।
धुलिखेलको चिनारी अभिवृद्धि : पहिचानको संरक्षण तथा सद्भाव झल्कीनेगरी धुलिखेलमा औपचारिक रुपमा गर्न लागेको यो पहिलो कार्यक्रमले धुलिखेलमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढाउन समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रम आयोजना गरिने स्थल अरनिको राजमार्ग छेउमै भएको हुनाले धुलिखेल नगरपालिका,काठमाण्डौं उपत्यकाको अलावा बनेपा,पनौती,नमोबुद्ध,पाँचखाल र यस पूर्वका पहाडी जिल्लाबाट समेत दर्शकहरुको सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ ।