नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रेको सुन्दर नगरी धुलिखेलमा सोनाम ल्होछार मनाईने भएको छ । यहि छेकोमा माघ १८ गते साँस्कृतिक र्याली,कन्सर्टका साथै खाना महोत्सव पनि आयोजना गरिएको आयोजक समितिका मुख्य संयोजक सिवि तामाङले जानकारी दिनुभयो ।
“तामाङ कला र संस्कृति सम्वद्र्धनका लागि मनाऔं सोनाम ल्होछार , शान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास” भन्ने मुल नाराका साथ धुलिखेल बसपार्क(अरनिको सालिक छेउ) गरिने २८५५ औ फाग (ढ्वा) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवम् खाना महोत्सवको तयारी तिव्र पारिएको उहाँले बताउनुभयो ।
धुलिखेल नगरपालिकाको मुख्य सहयोगमा नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमीटीको आयोजना तथा धुलिखेल नगर जनजाती परिषदको सह–आयोजनामा हुन लागिएको कार्यक्रमको प्रचारप्रसार,स्टल बुकिङ खुला,कलाकारलाई निमन्त्रणा दिने जस्ता काम भईरहेको जानकारी उहाँले दिनुभयो ।
के-के छन् कार्यक्रमका आकर्षणहरु ?
पाहुनाको आगमन,लामागुरुको प्रवचन र झाँकी : नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुको प्रमुख आतिथ्यता र अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको विशेष आतिथ्यतामा हुने कार्यक्रममा विशिष्ट पाहुना लामागुरुद्वारा प्रवचन,स्थानीय लामागुरुहरुद्वारा पुजापाठ, तामाङ कला संस्कृति झल्कीने विभिन्न झाँकी, स्थानिय मौलिक नाचहरु प्रदर्शन गरिनुका साथै विभिन्न विद्यालय तथा क्लवका प्रतिनिधि नृत्यहरु समेत प्रस्तुत गरिने आयोजकले पत्रकार सम्मेलनमा बतायो ।
कलकाकारहरुको सांगितीक धमाका : कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, इन्दिरा योञ्जन लागयतले आफ्ना चर्चित गीतहरुद्धारा माहौल तताउनुहुनेछ । साथै श्री थापा मगर,सानुमाया वाईबा,सावित्री रानामगर,अनिशा तामाङ,उदेश श्रेष्ठ,जिदान तामाङ,आशिष तामाङ लगायत दर्जनबढि स्थानीय कलाकारहरुले पनि आफ्रना प्रस्तुती दिनुहुने प्रेस संयोजक अञ्जली लामाले बताउनुभयो ।
मौपलिक पहिरन र खानेकुराको मज्जा : मुख्य कार्यक्रम संयोजक सिवि तामाङका अनुसार महोत्सवमा विभिन्न खानेकुरा,पहिरन,मौलिक बस्तुका करिब २० वटा स्टलहरु रहनेछन् । जहाँ तामाङ तथा हिमाली समुदायको आलुम,रोटी,खाप्से,बाबरी,तेमे जस्ता मौलिक खानेकुराका साथै स्थानिय नेवार समुदायमा प्रचलित खानेकुराका परिकार र केहि स्थानिय होटलका आधुनिक खानाका परिकारहरु हुनेछन् ।
मुख्य कार्यक्रम संयोजक लामाको भनाई छ–“ल्होछारलाई हामीले साझा बनाउन खोजेका छौं,विविधताले भरिएको मुलुकमा एक समुदायले अर्को समुदायसँग दुखःसुख साट्ने परम्परालाई बचाउन जरुरी छ, त्यसैले हामीले नेवारी समुदायमा प्रचलित खानेकुराका परिकार पनि समेट्नेछौं साथै विविध समुदायका कलाकारहरुलाई पनि निम्ता गरेका छौं,सबैले रम्न पाउनुहुनेछ ।”
महोत्सवमा तामाङ तथा आदिवासी समुदायमा प्रचलित कुलागी,स्ह्यामा,आङ्रे,हाकुपटासी जस्ता पहिरनका साथै डम्फू टुङना लागयतका परम्परागत बाजागाजा समेत प्रदर्शनी र विक्रिवितरणका लागि हुनेछन् ।
धुलिखेलको चिनारी अभिवृद्धि : पहिचानको संरक्षण तथा सद्भाव झल्कीनेगरी धुलिखेलमा औपचारिक रुपमा गर्न लागेको यो पहिलो कार्यक्रमले धुलिखेलमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढाउन समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रम आयोजना गरिने स्थल अरनिको राजमार्ग छेउमै भएको हुनाले धुलिखेल नगरपालिका,काठमाण्डौं उपत्यकाको अलावा बनेपा,पनौती,नमोबुद्ध,पाँचखाल र यस पूर्वका पहाडी जिल्लाबाट समेत दर्शकहरुको सहभागिता रहने अपेक्षा आयोजकले लिएको छ । सह–संयोजक चिनिमाया तामाङका अनुसार कार्यक्रम विहान ९ः३० देखी साँझ ७ बजेसम्म हुनेछ ।