नमोबुद्ध संवाददाता :

काठमाण्डौं–केहि समयको अन्तरालपछि तामाङ चलचित्र संघका पूर्व अध्यक्ष जेनिश लामा ‘जाडो है महिना’ सेलो भिडियोमार्फत कलाकारितामा फर्कनुभएको छ । सञ्जीव वाईबाको शब्द,संगीत र स्वरमा रहेको यो सेलोमा उहाँ मोडलको भुमिकामा देखिनुभएको हो ।

हरि घलेको क्यामेरामार्फत यो सेलोमा कोरियोग्राफर अजय स्याङतानले दिप्ती गोम्जा तामाङ र जेनिशको जोडिलाई उतार्नुभएको हो ।
२०६७ सालमा उत्कृष्ठ ठहरिएको ‘ह्युल्ला माया’ तामाङ चलचित्रमा सहनायकको भुमिका निर्वाह गरेयता पुनः स्कृन फेस गर्नुभएका जेनिशको यो पटकको भुमिकामाथि पनि प्रशंसा भएको छ ।

आईतबार राजधानीस्थित चुच्चेपाटी चावहिलमा भिडियो सार्वजनिक गर्नुहुदै बरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङले भन्नुभयो–“गीत संगीत संगै भिडियो पनि उत्कृष्ट लाग्यो,उर्जाशिल भाई जेनिशको अभिनय,कलाकारिताप्रतिको लगावको म प्रशंसा गर्दछु । ” उहाँले गायक सञ्जीव वाईबाको पनि प्रशंसा गर्न छोड्नुभएन । भन्नुभयो–“सञ्जीव भाई संगीतका उत्तिकै राम्रा प्रतिभा हुनुहुन्छ,उहाँमा संगीतिक उर्जा कम छैन,औधी मिठो सेलो पस्किनुभएको छ,यसले व्यापकता छाओस्,शुभकामना अनि बधाई दिन चहान्छु ।”

तामाङ कलाकार संघका एक अधिकारीको भनाई पनि उस्तै छ–“सञ्जीव र जेनिशको सहकार्यबाट तामाङ समुदायले थुप्रै राम्रा सिर्जनाहरु पाईरहेको छ ।” जेनिशको कम्ब्याकबारे ति अधिकारीले भने–“कलाको भाषा,तिनले उठाउने चेतनाबारे जेनिश राम्रै जानकार हुनुहुन्छ,राजनीति र व्यवसायमा समेत उत्तिकै सक्रिय उहाँको पुनः आगमनले हामीलाई खुसी तुल्याएको छ ।”

‘जाडो है महिना’ यो सेलो लेखनसँगै संगीत र स्वरसमेत भर्नुभएका सञ्जीव वाईबा कला जगतमा जेनिशको झुकावप्रति खुसी व्यक्त गर्नुहुन्छ । तामाङ सेलो गीतसंगीतमा खारिएका जल्दाबल्दा गायक वाईबा यसको भिडियो राम्रो बन्नुमा टिमवर्कको महत्वपूर्ण भुमिका रहेको बताउनुहुन्छ ।

ल्होछारको पुर्वसन्ध्यामा,जाडोयामको सन्दर्भमा आफ्नो यो कोसेलीले दर्शकस्रोतालाई केहि न केहि न्यायोपनको महसुस गराउने उहाँको भनाई छ । यो सेलोको रिलिजसँगै स्रोता दर्शकबाट प्राप्त प्रतिक्रियाले आफ्नो सांगीतिक यात्रा अगाडी बढाउन थप उर्जा मिल्ने उहाँको अपेक्षा छ ।

कलाकारितामा पुनः फर्कनुभएका जेनिशले अब चलचित्र निर्माण तथा निर्देशन समेत गर्ने योजना रहेको बताउनुभयो । उहाँ दर्शक स्रोताको माया पाउनेमा विश्वस्त हुनुहुन्छ ।

किशोर उमेरमै ‘आमाला माया’ चलचित्रको कथा तथा स्कृप्ट लेखनका साथै गीत रचनामा समेत उत्तिकै अब्बल लामाले ‘ह्युल्ला माया’ पनि आफैंले निर्देशन गर्नुभएको हो ।

आदिवासी जनजाति चलचित्र जगतमै उत्कृष्ठ डकुमेन्ट्री चलचित्र ‘नालिस’ को निर्माणपछि भने लामा चलचित्र तथा गीत संगीतको क्षेत्रबाट अलि टाढिनुभएको थियो । गायक सञ्जीव वाईबा भने हाल तामाङ कलाकार संघका अध्यक्ष समेत हुनुहुन्छ ।

भिडियोसहित हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !