- नमोबुद्ध संवाददाता
धनगढी-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा वाइडबडी जहाज खरिद प्रकरणबाट चोखिन खोज्नुभएको छ । उहाँले यो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको हो ।
सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले आफूले मन्त्रीस्तरीय निर्णय पनि नगरेको बताउनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको सभापति देउवाको तर्क छ ।
जानकारीविना केही भएको भए आफूलाई थाहा नभएको भनि देउबा पन्छिन खोज्नुभयो । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको तथ्य हालै सार्वजनिक भएको थियो ।