नमोबुद्ध संवाददाता :
काठमाण्डौं– पटक पटक म्याद थप गर्दापनि महाधिवेशन गर्न नसकेपछि नेविसंघका अपाध्यक्षसहित सातजना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीनजना सहमहामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी रहेका छन् ।
महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् । राजीनामा बुझाउन नेविसङ्घ पदाधिकारीहरू देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरू सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसङ्घ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा पर्नुभएको छ ।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समयावधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।