नमोबुद्ध संवाददाता :
काठमाण्डौं–परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री सुष्मा स्वराजबिच अर्थपूर्ण भेटवार्ता भएको जानकारी दिइएको छ । भेटपछि नयाँदिल्लीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका नेपाल–भारत प्रबुद्ध समुह (ईपीजी) ले तयार पारेको प्रतिवेदनबारे छलफल भएको जानकारी दिइएको हो ।
भेटमा (ईपीजी)ले तयार पारेको प्रतिवेदन बुझ्न भारत सकारात्मक देखिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । ६ महिनाअघि तयार भएको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय अभावका कारण नबुझेको उहाँको भनाइ छ ।
दुई मुलुकको संयुक्त समझदारीमा बनेको प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यावन्यन तहमा लैजान भारत सकारात्मक बनेको मन्त्री ज्ञवालीले बताउनुभयो । नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूले तयार पारेको प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि नेपाली प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको भूमिकाबारे स्पष्ट पार्दै मन्त्री ज्ञवालीले आगामी समयमा सार्क सम्मेलनको आयोजना हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।
साथै नेपाली बैँकमा थाती रहेका भारतीय नोटका सम्बन्धमा पनि भारतीय विदेशमन्त्री स्वराजसँग छलफल भएको र नोट साटने आश्वासन पाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।