
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–सरकारले करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट अस्थायी रुपमा खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुत्रबारबाट खुला भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
घरव्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि पुरानो निर्णयमा पुनर्विचार गरिएको उहाँको भनाइ छ । कित्ताकाट खुला गरेसगै जग्गा दलालीहरु निकै सल्बलिने देखिन्छन् जसले रातारात जग्गाको मोल बढाउने घटाउने गरी कैयौं ठगिमा पर्न सक्ने सम्भावना देखिन्छ । अव्यवस्थित बसोबासलाई पनि सहजै प्रश्रय मिल्नेछ ।
यद्यपी मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताउनुभयो । उहाँका अनुसार खेतियोग्य जमिन भए नभएको सुनिश्चित स्थानीय तहले गर्नेछन् । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइनेछ ।