नमोबुद्ध संवाददाता :

काठमाण्डौं–कलोजो समस्याले बिहिबार बिहान निधन भएका तामाङ चलचित्रको नायक तिर्थकुमार लामाको तामाङ बौद्ध परम्पराअनुसार संस्कार गरिएको छ । परिवारको सहमतिमा तामाङ चलचित्र संघको नेतृत्वमा कान्तिपुर अस्पताल तिनकुनेदेखी स्वयम्भूसम्म शव यात्रा गर्दै तिर्थको शव बिहिबार अपराह्न स्वयम्भूमा संस्कारिएको हो ।

२०६३ सालमा संजय लामा बल निर्देशित “लेङस्याला सेम्जो” तामाङ चलचित्रबाट सिने क्षत्रे डेव्यु गरेका तिर्थको सम्झनामा तामाङ चलचित्र संघले स्वयम्भूमा श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सभामा आदीवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले तिर्थले चलचित्रमार्फत समुदायका लागि गरेको योगदान विर्सन नहुने धारणा राख्नुभयो ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले तामाङ समुदायले होनहार कलाकर्मी गुमाएकोमा दुःख व्यक्त गर्दै स्वर्गिय तिर्थ कुमार लामाको सपनालाई नभुल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–“हामी यो दुखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु,शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने क्षमता मिलुन् भनि म बुद्ध भगवानसँग प्रार्थना गर्दछु, हामी उहाँको सातौं दिन या १३ औं दिनको पुण्य तिथिमा सोकसभा गरी थप कुरा सार्वजनिक गर्नेछौं,तामाङ चलचित्रको विकासमा उहाँको योगदानलाई कदापी विर्सिने छैनौं ।”

साथै सभामा वरिष्ठ चलचित्रकर्मी,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि श्रद्धाञ्जली व्यक्त गरे । यस क्रममा तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष जगत तामाङले सेमला दुङाल, ज्यो ज्यो आले, आले च्याङबा, डन च्याङबा, चारसाय बिस, तिङला जो जस्ता चलचित्रमार्फत उर्जाशिल क्षमता प्रदर्शन गरेका तिर्थको निधनले अपुरनीय क्षति भएको बताउनुभयो । सादगी जीवनका तिर्थले चलचित्रमार्फत तामाङ समुदायको संस्कृति युवामाझ पुनर्भाषित गर्न उल्लेखनिय योगदान गरेकोले यसलाई खेर जान दिन नहुने तर्क अध्यक्ष तामाङले गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जलीका लागि पुर्व सभासद तिर्थ लामादेखी संयौं सर्वसाधारणसम्म पुगे । सहभागि थुप्रैले नायक लामालाई बचाउन नसकेकोमा दुखमनाउन गरे । अचेत अवस्थामा कान्तिपुर अस्पतालमा भर्ना गरिएको थाहा पाएलगत्तै तामाङ चलचित्र संघले तिर्थलाई बचाउन पहल गरेपनि अन्तत : मृत्युसँग जित्न नसकेको संघका महासचिव जयनकुमार मोक्तानले बताउनुभयो । उहाँका अनुसार संघले संस्थागत रुपमा उपचारका लागि तत्काल ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

श्रद्धाञ्जली सभामा के बोले तामाङ चलचित्र संघका अध्यक्ष थोकरले,हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !