नमोबुद्ध संवाददाता :
भक्तपुर–स्थानिय रेडियो,जनसञ्चार एफएमबाट प्रत्येक बुधबार ११ बजे प्रशारण हुदै आएको तामाङ भाषाको कार्यक्रम “छोर्वाला काअी”को पाँचौ वार्षिक उत्सव मनाउने तयारी सकिएको छ । आउँदो शनिबार १४ गते दिउँसो १ बजे राष्ट्रियसभा गृहमा सञ्चार तथा सुचना प्रविधि मत्री गोकुल बाँस्कोटाको बाहुलीबाट उद्घाटन गर्नेगरी भव्य समारोहको आयोजना गरिन लागेको छ । यसको सम्पुर्ण तयारी सकिएको कार्यक्रम प्रश्तोता सुदिन दोङले जानकारी दिनुभयो ।
उक्त समारोहमाझ उज्यालो नेपालका नायक कुलमान घिसिङदेखी नेपाल आईडल बुद्ध लामा सम्मलाई सम्मान गरि “छोर्वाला काअी”ले अझ थप सामाजिक उत्तरदायित्वलाई उजागर गर्दैछ । समारोहले तामाङ संस्कृतिको प्रवद्र्धन तथा पहिचान अभिवृद्धिमा उल्लेखनिय योगदान दिने व्यक्तित्व,कलाकार,स्रोता,दर्शक,विभिन्न संघसंस्थाका प्रतिनिधि सबै भेला हुने अवसर जुराएको हो ।
चर्चित कलाकारहरुको सांगितिक प्रश्तुतीका साथै विभिन्न सामाजिक अभियानमा रहेका व्यक्तित्वहरुले थप चिन्तन मनन गर्ने र सहभागि दर्शक स्रोता तथा सर्वसाधारणले समुदायको परिवर्तनमा आफ्ना भुमिका वोध गर्ने दरिलो अवसर हुने भएकोले पनि “छोर्वाला काअी” को यो पटकको वार्षिक उत्सवलाई महा–उत्सवको रुपमा हेरिने भएको छ ।
समुदायको पक्षमा राज्यसँग मुकाबिला गर्ने,जागरण पैदा गराउने र सँस्कृति प्रवद्र्धन गर्ने गरी सञ्चालन हुने तामाङ भाषाका विभिन्न रेडियो कार्यक्रमहरुमध्ये भव्य रुपमा वार्षिक उत्सव मनाउने,दुखसुख साटासाट गर्ने,होनहार व्यक्तित्वहरुलाई समुदायप्रति थप जिम्मेवार बनाउन दबाब मिल्ने यो नै ठुलो औपचारिक कार्यक्रम हुनेछ ।
“हाम्रो समृद्द नेपाल”को घोषणा गरिने
तामाङ भाषा,साहित्य,संस्कार,धर्मसंस्कृति,रीतिरिवाज,परम्परा,रहनसहन साथै आधुनिक दुनियाँमा तामाङहरुको अवस्था लगायत विभिन्न विषयमा आफ्नो अलग पहिचान बनाउँदै आएको रेडियो कार्यक्रमले आफ्नो ऐतिहासिक यात्रा चाल्ने प्रश्तोता दोङले बताउनुभयो ।
दोङले अब यो कार्यक्रम आजको युगको आवश्यकता अनुसार अघि बढ्नेक्रममा पब्लीक फोरम निर्माणतर्फ अघि बढिसकेको जानकारी दिनुभयो । यसैक्रममा उक्त वार्षिक उत्सवकै समारोहमा “हाम्रो समृद्द नेपाल” नामक पब्लीक संस्थाको घोषणा पनि गरिदैछ ।
यसअघि रेडियो कार्यक्रममार्फतनै आह्वान गर्ने र स्वयम्को सक्रियतामा विभिन्न सामाजिक अभियानहरु समेत सञ्चालन गरिदै आएको थियो । सुचना,मनोरञ्जन प्रदानका अलावा रेडियो कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका रोगी पीडितहरुको सहयोग एवं उनीहरुको पून : जीवनका लागि पनि काम गरिदै आएको प्रश्तोता दोङको भनाई छ ।
उहाँका अनुसार अब यस्ता सामाजिक कार्यक्रमहरु “छोर्वाला काअी”को सञ्चार सहकार्यमा प्रत्यक्ष रुपमा “हाम्रो समृद्द नेपाल” संस्थाबाट हुनेछन् । यस सामाजिक अभियानमा स्वयम सुदिनका साथै अब मिलन लामा,बबिता योञ्जन लगायतका व्यक्तित्वहरु प्रत्यक्ष जोडिदैछन् । यस संस्थाले “सुखी नेपाली,समृद्ध नेपाल” यस मुताविकका विभिन्न अभियानहरु चलाउने महासचिव मिलन लामाले बताउनुभयो ।