नमोबुद्ध संवाददाता :

काठमाण्डौं–संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सत्तारुढ दलकै नेताबाट सरकारको आलोचना भयो ।

निर्मला हत्याकाण्ड सत्तारुढ दलको टाउको दुखाइ

बैठकमा सम्बोधन गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठाएको टिप्पणी गर्नुभएको छ । प्रचण्डले यस विषयलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताउनुभयो । उहाँले यो घटनालाई चुनौतीका रुपमा लिएर अनुसन्धानमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो । यस घटनापछि सरकार र पार्टीको छवी समेत धमिल्याउनेगरी प्रचारवाजी भईरहदा उहाँले यस्तो बताउनुभएको हो ।

यसक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि कञ्चनपुरका बालिका निर्मला हत्याकाण्डमा संलग्न भन्दै निर्दोषहरुलाई फसाउन खोजेर देशको शान्ती सुरक्षा खल्बल्याउन खोजिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले वर्तमान सरकारले जनता, महिला, बालबालिकालाई शान्ती सुरक्षा दिन नसकेकोमा आक्रोस व्यक्त गर्दै अहिले देशमा सरकार भएको आभास गर्न नसकिएको आरोप लगाउनुभयो ।

चौधरीलाई अन्याय किन ?

राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा विभेदको सीमा नाघेको आरोप लगाउनुभयो । आपराधिक घटनामा मुछिएका थुप्रैको संरक्षणमा ठुला दलहरु लागेको आरोप लगाउदै उहाँले आफ्ना सांसद रेशम चौधरीमाथि अन्याय भएको बताउनुभयो । उहाँले कैलालीबाट निर्वाचित सांसद चौधरीलाई संसदमा बस्ने वातावरण तत्काल बनाउन माग गर्नुभयो । उहाँको प्रश्न छ–“ थुप्रै अपराधिहरु खुलेआम हिडिरहेछन् तर रेशम चौधरी अपराधि हैनन्, संसदमा बस्ने वातावरण नबनाएको किन ?” साथै उहाँले आफ्ना मागहरु सरकारले पूरा नगरेको आक्रोस पनि पोख्नुभयो ।

सान्दर्भिक भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !