
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–उर्वरा फाउन्डेसन नेपालले पहिलोपटक ‘अन्तराष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’को घोषणा गरेको छ । घोषणासँगै सो अवार्ड पाउने प्रतिभाको नाम समेत सार्वजनिक गरिएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्यमा विशेष योगदान पुर्याए बापत वरिष्ठ साहित्यकार कमला प्रसाईंलाई पहिलो पटक सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेशनले जनाएको छ । प्रसाईंका दुईवटा कविता संग्रह, एक गीति संग्रह र एक नाटक संग्रह प्रकाशित छन् ।
वरिष्ठ साहित्यकार शशि लुमुम्वुका अनुसार साहित्यकार प्रसाईं विभिन्न साहित्यिक संस्थाहरुमा सल्लाहकार र मानार्थ समेत रहेकी छिन् । अमेरिकन सरकारले समेत प्रसाईंलाई विशेष सम्मान दिइसकेको छ । उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा पनि आबद्ध छिन् । यस वर्षदेखि प्रारम्भ भएको पुरस्कार फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने उर्वराकी अध्यक्ष देवकी अभिलाषीले जानकारी दिईन् ।