
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–आउँदो शैक्षिकसत्रका लागि कक्षा–१ देखि कक्षा–४ सम्मको पुस्तक निजी प्रेसले छाप्ने भएको छ । गत वर्ष कक्षा–५ सम्मको पाठ्यपुस्तक निजी प्रेसलाई छाप्न दिएको शिक्षा मन्त्रालयले आउँदो वर्षदेखि भने कक्षा–४ सम्मको मात्र पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको हो । कक्षा–५ देखि १२ सम्मको पाठ्यपुस्तक भने जनकशिक्षा सामग्री केन्द्रले नै छाप्नेछ ।
निजी प्रेसले नेपाली, अंग्रेजी, विज्ञान, स्वास्थ्य तथा शारीरिक र सामाजिक गरी ५ विषयका पाठ्यपुस्तकमात्र छाप्न पाउनेछन् । मन्त्रालयको निर्णयअनुसार निजी प्रेसलाई सूची दर्ता गराउन सूचना जारी गरिएको र यसका लागि १५ दिनको समय दिइएको छ । जनक शिक्षा सामग्री केन्द्रले वर्षेनी पाठ्यपुस्तक छाप्ने गरेकामा समयमा पाठ्यपुस्तक नपुगेका कारण गत वर्षदेखी सरकारले निजी प्रेसलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
केन्द्रसँग ७ करोड पाठ्यपुस्तक छाप्ने क्षमता रहेपनि सरकारले किन निजी क्षेत्रलाई छाप्न दिएको भन्नेबारे चासो बढेको छ । आफ्नै कर्मचारीबाट काम लिन नसकेका सरकारले निजी प्रेसलाई स्थान दिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यसबारे आफुलाई थाहा नभएको जनकशिक्षा सामाग्री केन्द्रका प्रमुख महेश तिमल्सिनाले बताउनुभयो ।
फागुन १ गतेदेखि पठनपाठन हुने विद्यालयमा माघ १५ गतेसम्म र वैशाखदेखि पढाइ सुरु हुने विद्यालयमा चैत १५ गतेसम्म पाठ्यपुस्तक पुगिसक्नु पर्ने प्रावधान छ । जनक शिक्षा आलटालकै अवस्थामा रहेको,मन्त्रालय भर्खरै निजी प्रेसको पाउ परेको लगायतका कारण यो पाली पनि बेलैमा पाठयपुस्तक विद्यार्थीको हातमा पुग्न चुनौती देखिन्छ ।