नमोबुद्ध संवाददाता
धुलिखेल–कारदाता सेवा कार्यालय धुलिखेल,काभ्रेले आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ । सातौं राष्ट्रिय कर दिवसको अवसर पारी काभ्रेपुर्वका ४ जिल्लाका करदाताका लागि सेवा प्रारम्भ गरेको प्रमुख कर अधिकृत डम्बर प्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि धुलिखेल मिरावेल चोक सम्धीको थकाली रेष्टुरेन्ट सँगैको घरबाट करदाता सेवा कार्यालयको नामबाट सेवा दिदै आएकोमा अहिले केहि अधिकारसहित आन्तरिक राजस्व कार्यालयको रुपमा शैक्षिक तालिम केन्द्र धुलिखेलसँगैको भवनबाट सेवा थालिएको हो ।
काभ्रेपलाञ्चोकसँगै सिन्धुपाल्चोक,रामेछाप र दोलखाका करदातालाई समेत मध्यनजर गरी सेवा विस्तार गरिएकोले सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्न फराकिलो ठाउँ खोज्ने क्रममा यो कार्यालय धुलिखेल अस्पतालको पल्लो थुम्कोस्थीत शैक्षिक तालिम केन्द्रछेउ राखिएको पराजुलीको भनाई छ ।
कर तिर्ने,स्थायी लेखा नम्बर(पान) प्रमाणपत्र दिने,राजस्व चुहावट तथा अनियमितताको सवालमा अनुगमन गरी आन्तरिक राजस्व विभागलाई सुझाव दिने लगायतका काम आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट हुने अधिकृत पराजुलीले बताउनुभयो । सेवा विस्तार अघि काभ्रेलाई केन्द्रीत गरी पान नम्बर दिने र कर लिने काम मात्रै हुने गथ्र्यो,अन्य थप सेवाका लागि भक्तपुर या काठमाण्डौं पुग्नुपथ्र्यो । हाल ३० हजार करदातालाई सेवा दिने काम भईरहेको जानकारी दिदै प्रमुख कर अधिकृत पराजुलीले नागरिक राज्यप्रति जिम्मेवार हुनेक्रम बढेकोले करदाताको संख्या पनि बढ्न सक्ने बताउनुभयो ।
धुलिखेलबाट मध्यपुर्वका ४ जिल्लाका लागि लक्षित गरी सेवा थालेकोबारे जानकारी पुर्याउने सवालमा यो पटकको राष्ट्रिय कर दिवस उपयोगी बनेको उहाँको धारणा छ । दिवसको अवसरमा दोलखा,रामेछाप र सिन्धुपाल्चोकमा करदाता शिक्षाबारे अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भईसकेको जानकारी उहाँले दिनुभयो । सप्ताहव्यापी रुपमा दिवस मनाउनेक्रममा नागरिक करको दायरामा आउनुको फाईदा र करको दायरामा नआउदाको वेफाईदाबारे स्पष्ट पार्ने काम भएको उहाँको भनाई छ ।
धुलिखेल उद्योग वाणिज्य संघसँग सहकार्य गरी काभ्रेको धुलिखेलमा शुक्रबार आयोजना गरेको करदाता शिक्षा,अन्तरक्रिया र कर सप्ताह सपापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “कर : समृद्ध नेपाल,सुखी नेपालीको भर” भन्ने मुल नाराका साथ मनाईएको यो पटकको कर दिवसको सन्दर्भमा वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले नागरिकले कर, करले हैन रहले तिर्ने वातावरण बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।