नमोबुद्ध संवाददाता
धुलिखेल–तामाङ सेलो गितसंगित तथा कला संस्कृतिको संरक्षणमा क्रियाशिल कोम्हेन्दो मिडिया हाउस यत्तिबेला तामाङ सभ्यताको उद्गम थलो काभ्रेको तेमाल यात्रामा छ । कोम्हेन्दोले थप सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सार्वजनिक सुनुवाई शैलीको कार्यक्रम श्रींखला लिएर कात्तिक दोस्रो साताबाट तेमाल यात्रा थालेको हो ।
स्थानिय रेडियो रोशीमा गत वर्षदेखी उत्पादन गरी प्रशारण गरिदै आएको रेडियो कार्यक्रम “तेमाल आवाज” मार्फत जनताको आवाज बुलन्द गर्न आफुहरु प्रत्यक्ष जनतामाझ पुगेको कार्यक्रम सञ्चालक कृष्ण घिसिङले बताउनुभयो । कला संस्कृति,शिक्षा,स्वास्थ्य,खानेपानी,पर्यटन लगायतका विकासको पाटो अगाडी बढाउदै समृद्ध तेमाल बनाउने अभियानमा कोम्हेन्दो पनि उभिएको उहाँको भनाई छ ।
तस्वीर : हेम ब्लोन
स्थानिय सरकार तेमाल गाउँपालिकाका साथै सेलो क्रियशनको समेत सहयोगमा तेमाल गाउँपालिकाको वडा नम्बर १ सस्र्युंखर्कबाट सुरु भएको यात्रा प्रत्येक वडावडा÷गाउँगाउँ पुगेर तिहारपछि समापन गरिने कोम्हेन्दोका महासचिव चन्द्र दोङ तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“अहिलेसम्म सस्र्यंखर्क,चुखा,बोल्देफेदिचे,सरमथली र ठुलोपर्सेलको यात्रा गरिसकेका छौं अब तिहार लगत्तै अरु गाउँहरु पुग्ने कार्यक्रम छ ।”
यात्रामा सहभागि गाउँपालिका प्रमुख सलाम सिं लामाले समृद्ध तेमाल बनाउने सपना साकार पार्न यो कार्यक्रमले मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । समृद्ध तेमाल निर्माण अभियानमा जुट्न आह्वान गर्दै उहाँले भन्नुभयो–“थाहा पाउने सबैको अधिकार हुन्छ,हामीले गरेका विकास निर्माणका कामबारे जनतालाई थाहा दिनुपर्छ अनि पो जनताले बुझ्छन्,गाउँ बनाउन सबैले योगदान गर्छन् ।”
तस्वीर : हेम ब्लोन
उहाँले जनतालाई सुशासनको प्रत्याभुति दिलाउन पारदर्शि ढंगले विकास निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । तेमालमा स्थानिय मौलिक संस्कृति प्रवद्र्धनका साथै ऐतिहासीक,धार्मिक र प्राकृतिक छटाहरुको संरक्षणका लागि गुरुयोजना अघि बढाईदै गरेको उल्लेख गर्दै उहाँले यस कार्यमा सबै दल,संघसंस्था,व्यक्ति लाग्नुपर्ने धारणा राख्नुभयो ।
सिसिएस नेपाल र सिसिएस ईटाली जस्ता संस्थामार्फत तेमालको शैक्षिक विकासमा एक दशक विभिन्न कार्यक्रम गरिसक्नुभएका अध्यक्ष लामाले विगत स्मरण गर्दै भन्नुभयो–“म तपाईहरुको आफ्नै मान्छे हुँ,यि गाउँ मेरै हो,तपाईहरु कसैलाई केहि नराम्रो भए मेरो मुटु दुख्छ ।”
गाउँको समुन्नतीमा महिला,दलित,जनजातिको पनि उत्तिकै भुमिका रहने उल्लेख गर्दै गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले विभेद रहित व्यवहारमा लाग्नुपर्ने बताउनुभयो । अब महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिदै न्यायिक समतिका संयोजक समेत रहनुभएका तामाङले संविधानले प्रदत्त गरेको अधिकारको प्रयोग गर्दै कानुनी राज्यको आभास दिलाउने गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
तस्वीर : हेम ब्लोन
सेलो क्रियशनका सञ्चालक चित्र तामाङले स्थानिय सरकार सुशासन,पारदर्शीता र जवाफदेहीतामा नडगमगाई अघि बढे जनताले संघियताको अभ्यासमार्फत भरपुर फाईदा लिन सकिने बताउनुभयो ।
तस्वीर : कृष्ण घिसिङ
कार्यक्रममा सहभागि वडाध्यक्ष मान वहादुर श्रेष्ठ,तेमाल सिं लामा,विकुलाल लामा,आसपुर लामा,विष्णु लामा लगायतले पनि आफूहरु जनताको आवश्यकतालाई ख्याल गरि जनताको सेवामा तल्लिन रहने प्रतिवद्धता जनाउनुभयो । सहभागि स्थानियले समृद्ध तेमाल निर्माण अभियानमा सानातिना विकासका पुर्वाधार बाधक बन्न नहुने बताए ।
सडक,खानेपानी जस्ता विकासका पुर्वाधारको उचित विकास गरी अर्थ उपार्जनका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन सक्नुपर्ने उनिहरुको भनाई छ । उनिहरुले खानेपानी,स्वास्थ्य सेवा,शिक्षाका साथै तेमाल समृद्धिको मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्न आवश्यक बजेट तथा कार्यक्रम बनाउन गाउँपालिकालाई आग्रह पनि गरे ।
तस्वीर : हेम ब्लोन
यात्रामा नागरिकको सवाल नागरिकले प्रत्यक्ष जनप्रतिनिधिसँग राख्न सक्छन्,स्थानिय क्षेत्रमा देखिएका उपलब्धीमा स्वामित्व ग्रहणका साथै समस्या समाधानमा स्थानियलाईनै जिम्मेवार बनाईन्छ,जनताका ति समस्या समाधानका संयोजन वडा र गाउँपालिकाले गर्नुपर्ने हुन्छ,लामा साउण्ड सर्भिस मंगलटारको प्राविधिक संयोजनमा रेडर्क समेत गर्ने गरिएको ति सामाग्री रेडियो रोशीमार्फत प्रशारण हुने गर्छ ।