नमोबुद्ध संवाददाता
काठमाण्डौं–“विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं ।” भन्ने नारासहित आगामी मङ्सिर २८, २९ र पुस १ गते हुने अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलनको तयारी सुरु भएको छ । विभिन्न मुलुकमा रहेका तामाङ समुदायको साझा संस्थाको रुपमा स्थापित परिषदको सम्मेलनको मिति तय गरिएसँगै यसको तयारी थालिएको परिषदका सचिव प्रतीक ङेसुर तामाङले जानकारी दिनुभयो ।
भारतको दार्जीलिङ स्थित मिरिकमा हुने सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि मिरिकमा अखिल भारतीय तामाङ बौद्ध संघको संयोजनमा व्यवस्थापन समिति गठन भएको छ । विधान संशोधन, संस्कृति संस्कार निर्देशिका र बौद्ध पात्रोसम्बन्धी अलगअलग गठन गरिएका उपसमितिले काम थालेको सचिव तामाङले बताउनुभयो ।
“काठमाडौं स्थित परिषद्को सचिवालयले सम्मेलन तयारीको सबै कार्यको संयोजन गरिरहेको छ ।” परिषद सचिव तामाङले भन्नुभयो–“सम्मेलन एतिहासिक रुपमा सम्पन्न गर्ने तयारी छ, यो पाली तामाङ जातिको पहिचान, इतिहास, संस्कृति, सभ्यता झल्कने गरी “तामाङ महोत्सव” को समेत आयोजना गर्दैछौं ।”
यसपटकको सम्मेलनमा सहभागिताका लागि विभिन्न देशका संस्थाहरूलाई पत्राचार गरिसकिएको उहाँले बताउनुभयो । सम्मेलनका लागि नेपालका साथै,भारत,कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, युएई, हङकङ, ओमान, बेल्जियम, साउदी अरब, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराइन, मकाउ,थाइल्याण्ड, बर्मा, भुटानका संस्थाहरूलाई सम्पर्क गर्ने काम सकिएको छ ।
फाईल तस्वीर
चौथो सम्मेलनमा २१ देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । एक देश एक संगठनको हिसाबले सम्मेलनमा सहभागिताका लागि सम्पर्क गरिएको र आधाभन्दा बढी देशका संस्थाहरूले प्रतिनिधिको टुंगो लगाइसकेको सचिव तामाङले जानकारी दिनुभयो ।
परिषद्को यस सम्मेलनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । सम्मेलनको पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले उद्घाटन गर्ने तय भएको छ ।
तामाङ समुदायको समृद्धि, इतिहास, पहिचान, मौलिक सभ्यताको संरक्षण गर्ने उद्धेश्यले स्थापित परिषद्को पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २००२ डिसेम्बरमा काठमाडौंमा सम्पन्न भएको थियो । यस सम्मेलनले नेपालका परशुराम तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
विश्वका विभिन्न देशमा क्रियाशील तामाङ सङ्घसंस्थाहरुलाई समन्वय गरी विश्वभरिका तामाङहरूलाई तामाङ समाजको हक हित र समुन्नतिका लागि सङ्गठित गर्दै अघि बढ्ने क्रममा परिषदको दोस्रो सम्मेलन सन् २००५ मा दाजीर्लिङमा भएको थियो,जुन सम्मेलनले भारतका एमएस बमजन तामाङलाई अध्यक्षमा निर्वाचित गरेको थियो । त्यसपछि सन् २०१३ मा पुनः काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालका महेन्द्रजंग तामाङ अध्यक्षमा चुनिनुभएको थियो ।
परिषदले हाल संस्कृति प्रवद्र्धनका साथै तामाङ सङ्घसंस्थाको संस्थागत विकास एवम् सशक्तिकरणमा सहयोग पु¥याउने लक्ष्यसहितका आफ्ना गतिविधिहरु गर्दै आएको सचिव तामाङले बताउनुभयो ।