नमोबुद्ध संवाददाता :
काठमाण्डौं–नेपाल कम्युनिस्ट पार्टीको नामको आधिकारिकता अब निर्वाचन आयोगको हातमा परेको छ । दुई पार्टीले दाबी गरेपछि देखिएको विवाद मिल्न नसकेको अवस्थामा यसबारे निर्णय अन्ततगत्व आयोगको हातमा पुगेको हो । कुन पक्षलाई दिने भन्ने विषयमा हिजो सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने जनाईएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग हिजो आयोगमा छलफल भएको थियो । आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीकाअनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन हिजो दिउँसो दुई घन्टाको समय दिएको थियो । सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ ।
छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत् गरेका थिए ।