नमोबुद्ध संवाददाता :

धुलिखेल–दशैंको मध्यतिर काभ्रेको ग्रामिण भेगसम्म पुगेर दुई महिलाले उदाहरणीय र प्रशंसायोग्य काम गरे । अष्टमीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचखालको साठ्ठीघर पलाञ्चोक पुगेर स्थानियवासीको संवेदना बुझ्ने प्रयत्न गर्नुभयो । छाप्रोमै दशैं मनाईरहेका स्थानियको अवस्थाबारे जानकारी लिनुभयो,अनि आफूलाई भेट्न आएका जनप्रतिनिधि महेश खरेल,असोक व्यञ्जु लगायतलाई जनताको समस्याको सम्बोधन गर्दै प्रशंसा कमाउन आग्रह गर्नुभयो ।

यहि वखत दिउँसो नमोवुद्ध नगरपालिकाका उप–प्रमुख(उपमेयर) रामदेवी तामाङ गरिव निमुखा,एकल महिलाहरुलाई राहत वितरणको ध्याउन्नमा हुनुहुन्थ्यो । “हुनेको दशैं नहुनेको दशा”–यसरी चाडवाड मनाउने नेपालको सन्दर्भमा उपमेयर रामदेवीलाई लोकतन्त्रमा पनि गरीब धनी बिचको विद्यमान खाडल पटक्कै मन पर्दैन ।

नजिकका कोही आफन्तजन नभएको,छोरा तथा श्रीमानले घरबाट निकालेका पिडित २० जना महिलाहरुलाई राहत स्वरुप एक÷एक बोरा चामल र लुगाफाटा वितरण गर्दै उहाँले भन्नुभयो– “दशैं गरीब निमुखा,पिडित महिलाको पनि होस् ।”
एक दिन भएपनि मिठो मसिनो खाई दशैं मनाउन पाउन् भनर उहाँले ठङ्गु टासी गुम्बा नमोवुद्धका अध्यक्ष लामा खम्साङ पासाङ शेर्पा, नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ लामा, नेपाली काँग्रेस नगर संयोजक कुन्साङ लामा समेतको सहयोग लिइ ति सामाग्री वितरण गर्नुभएको हो ।

मानवअधिकारका लागि एकल महिला समूह काभ्रेका अध्यक्ष समेत रहनुभएका रामदेवीले एकल महिला समूह नमोवुद्धका अध्यक्ष ललिता पराजुलीसँगै सहकार्य गरी घरेलु हिंसामा परेका महिलाहरु र उनिहरुका बालबालिकालाई भेला गरी शुभकामना आदानप्रदान तथा चियापान समेत गराउनुभयो ।

नमोवुद्ध नगरपालिकाको तर्फबाट समेत शुभकामना व्यक्त गर्दै उहाँले आगामी दिनहरुमा पनि महिला उत्थानका विविध कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । राहत पाएका श्यामपार्टी,नमोवुद्ध,पाँचखाल लागयतका ति महिला तथा बालबालिकाहरुले उपमेयर रामदेवीको पहलको प्रशंसा गरे ।

राहत वितरणका थप फोटोहरु, फोटो : प्रेरणा लामा

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !