नमोबुद्ध संवाददाता

पाँचखाल–दशैंको अष्टमी मनाउने क्रममा काभ्रेको पाँचखाल नगरपालिका ९ स्थीत साठ्ठीघरमा रहेको पलाञ्चोक भगवतीमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जनगुनासो पनि ग्रहण गर्नुभएको छ । करिब १५ मिनेटसम्म भगवतीको दर्शन तथा पुजा गर्नुभएका भण्डारीले जनप्रतिनिधिका साथै स्थानियबाट भुकम्प प्रभावित र पुननिर्माणबारे जानकारी लिनुभएको हो ।

पाँचखाल लामिडाँडामा रहेको नेपालीको सेनाको तालिम केन्द्रसम्म हेलिकप्टरमा आउनुभएका राष्ट्रपति भण्डारी र पर्यटन मन्त्री रविन्द्र अधिकारीको टोलीलाई पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का लगायत स्वागत गर्न पुगेका थिए । केहि स्थानिय सहितका उनिहरुले पुननिर्माणबारे जानकारी गराए । केहिले जनताको गुनासो सुनाए ।

सरकारको झन्झटिलो प्रक्रिया तथा जनप्रतिनिधि र कर्मचारीको आलटालका कारण अझै थुप्रैले वर्षौंदखी छाप्रोमै दशैं मनाउनुपरेको गुनासो स्थानियले गरे ।

लिच्छवीकालमा बनेको मन्दिर,यो ईतिहाससँगै जोडिएको यहाँको नेवार बस्ती भुकम्पले थिलो थिलो भएको बस्ती हो ।

दैनिक पुजापाठ तथा हेरचाहको समेत जिम्मेवारी सम्हाल्दै आएका यहाँका नेवार समुदायका अगुवाहरुले भुकम्पपछि बस्तीमा रथ तान्ने,मन्दिरको मेला भर्ने जस्ता साँस्कृतिक गतिविधि समेत सहजै सम्पन्न गर्ने वाताबरण बनिनसकेको बताए ।

राष्ट्रपति भण्डारीले स्थानिय जनप्रतिनिधिलाई ईमान्दारिताका साथ जनताको समस्यामा साथ दिन अ्आग्रह गर्नुभयो । जनताको मन जितेर प्राप्त प्रशंसाले खुसी मिल्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो–“हामीले जनताको हितका लागि प्रशंसायोग्य काम गर्नुपर्छ ।”
पर्यटन मन्त्री अधिकारीले पनि पलाञ्चोक क्षेत्रको विकासका लागि सरकार साथमा रहने आश्वासन दिनुभयो ।

स्थानिय अगुवाले पलाञ्चोकलाई साँस्कृतिक पर्यटकीय स्थल बनाउन सकिने,यसमा खानेपानीका साथै केबुलकार यातायात सेवा सञ्चालन गर्न सकिने आसय व्यक्त गरे । मन्त्री अधिकारीले आफ्नो पार्टी नेतृत्वको यसअघिदेखीकै सरकार यसमा सकारात्मक रहेको भन्दै सरकारले थप कदन चाल्ने बताउनुभयो ।                                                                                                           फोटो : रामसुन्दर आचार्य

प्रतिक्रिया दिनुहोस !