एजेन्सी :

साउदी अरेबियाका पत्रकार जमाल खसोगीको विषय अझै अन्तराष्ट्रिय समुदायमाझ चर्चा र चासोकै विषय बनिरहेको छ । यसमा बढि ध्यान अमेरिकाको देखिन्छ । अमेरिका यस बारे साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्दैछ । वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरब पुग्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पियोलाई साउदी राजासँग कुरा गर्न त्यसतर्फ पठाएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पिओलाई निर्देशन दिनुभएको हो ।

टर्कीका अधिकारीहरूले यही अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा खसोगीको हत्या भएको दाबी गर्दै आएका छन् । तर साउदीका अधिकारीहरूले भने खसोगी नियमित काम सकेर वाणिज्य दूतावासबाट बाहिरिएको जिकिर गर्दै आएका छन् ।

साउदी राजासँग कुरा गरेपछि विदेशमन्त्री तत्कालै टर्की जाने र त्यहाँका अधिकारीहरुसँग पनि छलफल गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !