नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेपलाञ्चोकको डाँडापारी क्षेत्र अन्तर्गत खानीखोला गाउँपालिका वडा नम्बर ४ की मृगौला पीडित अनिशा लोप्चन तामाङको उपचारार्थ मंगलबार २२ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । “अनिशा बचाऔं अभियान” का संयोजक राम तामाङ र विरामीका आफन्त सागर जिम्बाको उपस्थीतिमा सो रकम साहित्यकार तथा अभियन्ता रचना मोक्तानले हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरणका साथै विरामीको स्वास्थ्य स्थीति समेत बुझ्न मोक्तानको टोली काठमाण्डौं मुलपानी स्थीत अनिशाको डेरामै पुगेको हो ।
हाल युएस क्यालिफोर्निया रहनुभएका,साबिक बोल्दे फेदिचे गाविस वडा नम्बर ४ पलुङ्ग भञ्ज्याङ्की बिनिता लोप्चनले पठाउनुभएको २० हजारमा अभियन्ता मोक्तानले २ हजार रकम थपेर सो सहयोग हस्तान्तरण गरिएको हो । मोक्तानले अनिशालाई बचाउने पहल स्वरुप हाल प्राप्त रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । अनिशाको स्वास्थ्यलाभको कामना गर्दै उहाँले विरामीको उपचार पुरा नभएसम्म सहयोग संकलनमा क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । संसारको जुनसुकै ठाउँमा रहेता पनि मानवताको नाताले जोकाही सहयोगी हृदय भएका महानुभावहरुले अनिशालाई सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण यसरी रकम जुटाउनु परेको उहाँले जनाउनुभयो । यसअघि अनिशाको उपचारका लागि कतारबाट अकल बहादुर स्याङ्तानले १७ हजार, काभ्रे सेवा समाज मलेसियाले २ लाख १४ हजार ४ सय र कागेश्वारी नगरपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो । अझै विरामीको उपचारका लागि थुप्रै रकम संकलन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।
उहाँका अनुसार ३० वर्षीया अनिशाको दुबै मिर्गौलाले काम गर्दैन । साहित्यकार मोक्तानले सहयोग गर्न चाहेमा विरामी अनिशा लोप्चनको नाममा काठमाण्डौं गोठ्ठाटार स्थीत प्रभु बैँकको शाखामा रहेको १५२०१००१०६३०६९०००००१ को खातामा सिधै सहयोग रकम जम्मा गर्न सकिने जानकारी पनि दिनुभयो ।
पछिल्लो समय मृगौला पिडितलाई सरकारले निशुल्क उपचार गर्ने भएपनि मृगौला दान गर्न जोकोही आफन्त तयार हुदैनन् जसले गर्दा तस्करमार्फत मृगौला प्राप्त गर्नुपर्छ,त्यसमा एउटा मृगौलाको कम्तीमा ५ देखी ७ लाख तिर्नुपर्ने बाध्यता छ । उपचारका लागि आउजाउ खर्च,खानपान लगायतको खर्च जोड्दा बिसौं लाख रुपैयाँ लाग्छ,यत्ति रकम सामान्य नेपालीका लागि धेरै ठूलो हो । यसैले मृगौला पिडितको उपचारका लागि रकम संकलन अभियान चलाउनुपर्ने अभियानकर्मीहरु बताउँछन् ।
पेसाले शिक्षक रहनुभएका साहित्यकार मोक्तान मानवसेवा तथा सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै तल्लीन रहेकोमा विरामीका आफन्त सागरले आभार प्रकट गर्नुभयो । उहाँले आफ्नी भान्जी अनिशाको नयाँ जीवनका लागि सहयोग गर्न सहयोगी हृदयहरुमा अपिल पनि गर्नुभयो । पछिल्लो समय मोक्तानले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत यस्ता सामाजिक अभियानहरुमा क्रियाशिलता बढाउदै आउनुभएको छ ।