नमोबुद्ध संवाददाता :
रोशी–युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष एवम् समाजसेवी अमित लामाले युवाले आँटे असम्भव भन्ने चिज केहि नरहेको बताउनुभएको छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थीत खहरेपाँगुमा महाभारत कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । युवा परिवर्तनको संवाहक रहेको बताउँदै उहाँले राजनीतिक आन्दोलन समाप्त भएकोले अब मुलुक निर्माणमा युवा एकतामा जोड दिनुभयो ।
युवा एकताको उदाहरण दिदै उहाँले भन्नुभयो–‘हामीसँग दृढ संकल्प चाहिन्छ,संकल्प सहितको सक्षम नेतृत्वले परिवर्तन ल्याएरै छाड्छ जस्तै : यो खेल्ने ठाउँ बनाउन हामीले निक्कै प्रयास गर्यौं,निरन्तर अविचलित लाग्यौं र पो आज सफलताको ढोका खुल्यो, आज यहि चौरमा गर्वका साथ उभिन पाउँदा मलाई निक्कै खुसी लागेको छ ।’
प्रतियोगिता आयोजना गर्न सफल हुनुले समाज परिवर्तनको अभियानमा युवा एक ठाउँमा उभिएको सकारात्मक सन्देश गएको उहाँको भनाई छ । यसले युवालाई समाजप्रति अझ जिम्मेवार र दायित्वबोध गराउन हौसला मिलेको नेता लामाको धारणा छ ।
पछिल्लो समय नेपालमा पनि खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको जनाउदै उहाँले सवल स्वास्थ र राष्ट्रिय पहिचान विश्वभर फैलाउन युवाको भुमिका रहने विश्वास व्यक्त गर्नुभयो । यसमा आफ्नो सक्दो सहयोग रहने उहाँको प्रतिवद्धता छ । युवामा सिर्जनात्मक क्षमता निहीत रहेको उल्लेख गर्दै उहाँले त्यो क्षमता उत्पादनमुखि कार्यक्रममा लगाउनुपर्ने पनि बताउनुभयो । यो समाज रुपान्तरणमा उपयोग हुने महत्वपुर्ण शक्ति रहने उहाँको तर्क छ ।
कार्यक्रममा फुटबल प्रतियोगिता आयोजक ताग्लिङ युवा क्लबका अध्यक्ष बिजय लामाले स्थानीय तहमा रहेका क्लवहरुलाई राज्यले सहयोग गरेमा गाउँगाउँबाट राज्यले गर्व गर्ने खालका नयाँ खेलाडीहरुको उदय हुने बताउनुभयो । प्रतियोगितामा रोशी गाउपालिका र नमोबुद्ध नगरपालिकाका १४ टिम भिडन्तमा उत्रनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख २५ हजार, द्धितीयलाई ५१ हजार तथा ट्रफी, मेडल, प्रमाणपत्र लगायतको व्यवस्था रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार थप उत्कृष्ट खेलाडी लगायतका विधाबाट पनि खेलाडीहरुलाई सम्मान गरिने छ । युवा एकतामार्फत उनिहरुको प्रतिभा प्रस्फुटन गर्दै जिल्लाको गौरव उचो बनाउने उदेश्यले दशैं तिहारको उपलक्ष्यमा यो प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।