नमोबुद्ध संवाददाता :

काठमाण्डौं–पूर्व राजाहरूले लगाएको श्रीपेच सोमबार सार्वजनिक गरिएको छ ।  नारायणहिटी दरबार सङ्ग्राहलयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो । अब सङ्ग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् ।

विशेष सुरक्षाका साथ गोली नछिर्ने सिसाको बाकसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री राखिएको छ । तत्कालीन राजाहरूले पहिरने श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् । अरु बहुमुल्य २ हजार ७ सय धातु टुक्रा छन् ।

श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्लीमा भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर छ । श्रीपेचमा कल्लीबाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडान गरिएको छ । राजदण्ड र चमरमा भने सुनैसुन रहेको छ । श्रीपेच अन्तिम राजा ज्ञानेन्द्र शाहले लगाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले राजतन्त्र, राणा शासनको अन्त्य र जनआन्दोलन लगायत सबै आन्दोलनको निष्कर्षका रूपमा पूर्व राजसंस्थाले प्रयोग गरेको श्रीपेच, राजदण्ड, लगायतका सामग्री प्रदर्शनीमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !