नमोबुद्ध संवाददाता :

कुन्ता–पुर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक क्षेत्रदेखी कर्मचारीसम्म अटेरी प्रवृत्तिले जरो गाडेको भन्दै त्यसलाई चिर्न सके मात्र समृद्ध मुलुक बनाउन सकिने बताउनुभएको छ ।
अधिक जनमत र बिश्वास भएपनि अपेक्षाकृत ढंगले अहिलेको सरकार चल्न नसक्नुमा यो प्रवृत्ति पनि मुख्य कारक रहेको उहाँको भनाई छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिकाद्धारा सञ्चालित नगर बस सेवाको उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो–“प्रधानमन्त्री ओलीजी अब डण्डा चलाउनुस्,म तपाईको साथमा हुन्छु,पहिला मन्त्रीहरुलाई तह लगाउनुस्,त्यसपछि सचिवहरुलाई डण्डा चलाउनुस्,त्यसैगरी विभागहरुलाई चलाउनुस् अनि मात्र समृद्ध नेपाल निर्माणको थालनी हुन्छ ।”

नीति र विधिमा हिड्न नचाहनेहरुलाई डण्डा चलाएर बाटोमा ल्याउनुपर्ने यदि त्यो नभए बढारेर लाउनुपर्ने उहाँको तर्क छ । नेता नेपालले नेकपाको दुई तिहाई सरकारप्रति जनताको अहिलेसम्मकै ठुलो अपेक्षा रहेकोले ति अपेक्षा अनुकुल अघि बढ्न अब राजनीतिक तहका व्यक्तिदेखी कर्मचारीसम्मलाई तह लगाउनुको विकल्प नभएको धारणा राख्नुभएको हो ।

निर्माण व्यवसायीहरु पनि मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाउदै उहाँले उनिहरु पनि सच्चिन आवश्यक रहेको बताउनुभयो । उहाँले यो मुलुक निर्माणमा सबैको सहभागिताको खाँचो रहेको औंल्याउनुभयो ।

नेता नेपालले मण्डन देउपुर नगरपालिकाले हेलम्बु यातायात सेवा प्रालिसँग सहकार्य गरी यातायात सेवाको सुरुवात गरेकोमा प्रसंशा गर्नुभयो । दिर्घकालसम्म जनताले अधिक लाभ उठाउन सक्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो–“यहाँ अधिकारका कुराहरु मात्र उठाईन्छ,हाम्रा दायित्वहरुलाई पनि त भुल्न मिल्दैन,जिल्ला समन्वय समितिका प्रमुखले बस व्यवसायीहरुको पक्षमा मात्रै बोल्नुभो,त्यस भित्र पनि थुप्रै विकृति विसंगती छन्,सभ्य र अनुशासित ढंगले जनतालाई राम्रो सेवा दिनुपर्यो ।”

नगरका प्रमुख टोक बहादुर वाईबाले आफुहरु निरन्तर जनतासँको साक्षात्कारमा रहने उल्लेख गर्दै जनताको आवश्यकता अनुसार चुनाव अगाडी जारी गरेको घोषणापत्र,जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्दै जानेक्रममा नगर बस सेवाको सुचारु गरेको जानकारी दिनुभयो ।

स्थानिय वडा कार्यालय,नगरपालिकाको कार्यालय,बजारसम्मको आवजजावतलाई सहज बनाउन नगरपालिकाले नगरकोट,देउपुर,ज्याम्दी,मण्डन,कुन्ता,दोलालघाट जस्ता स्थानिय रुटहरुमा आईताबारदेखी ६ वटा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस !