नमोबुद्ध संवाददाता :

घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदैछ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यसरी दशैंको मुख्य दिन नजिकिदै गर्दा दशैं मनाउन शहरबाट आ–आफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा बढिरहेको छ । काठमाडौं उपत्यकाका साथै मुख्य शहर छोड्ने यात्रुको संख्या हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उनिहरु काठमाण्डौं थान्कोट,फर्पिङ तथा काभ्रेको साँगा नाका,बनेपा,धुलिखेल हुदै बाहिरिन्छन् ।

महाशाखाका अनुसार दैनिकजसो करिब २ लाख यात्रु दसैंका लागि बाहिरिरहेका छन् । सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । त्यस दिनदेखि अहिलेसम्म २० लाख भन्दा धेरै यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताउनुभयो ।
त्यस्तै, उपत्यकाका विभिन्न स्थानका टिकट काउन्टरबाट कुल १ लाख ४२ हजार २ सय ४१ वटा टिकटको अग्रिम बुकिङ भएको छ । अधिकांश यात्रुहरू अग्रिम टिकट बुकिङ नगरी आफ्नो घर जाने गरेका छन् । जसले गर्दा बढी भाडा लिने तथा टिकटमा कालोबजारी बढेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी चेकजाँचमा कडाई

यसैबिच आफुलाई पायक पर्ने नजिकका बजारहरुमा किनमेलका लागि भीडभाड पनि बढेको छ । यात्रुहरुको बाक्लो आवाजजावतले सवारी साधनहरु भरिभराउ देखिएका छन् । काभ्रेको हुदै पुर्व तथा तराई चल्ने विपी राजमार्ग र मध्यपुर्वका सवारी साधन चल्ने अरनिको राजमार्गमा पनि सवारी साधनको चाप बढ्न थालेको छ । यात्रुहरु नठगिउन भनेर जिल्ला ट्राफिक प्रहरीले चेकजाँच पनि कडा पारेको छ ।

मण्डनमा नगर बस

जिल्लाको मण्डन देउपुरमा यात्रुहरुको सहजताकै लागि आजदेखी नगर बस सञ्चालन गरिदैछ । राजमार्ग छेउछाउको नगरपालिका भएपनि ठुलो भुगोल र विकट भुगोलका कारण जनताले असुविधा वेहोर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै नगरबस सञ्चालन गर्न लागेको मण्डन देउपुर नगरका प्रमुख टोक बहादुर वाईबाले बताउनुभयो । नगरवस उद्घाटन एक औपचारिक कार्यक्रमका बिच नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले कुन्ताबेशी बजारबाट आजै मध्यान्न गर्नुहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !