नमोबुद्ध संवाददाता
बनेपा—काभ्रेको बनेपा नगरपालिका ७ बाट सेवा दिदै आएको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्नुहुदै जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले संघीय संरचनाअनुसार स्थानिय तहलाई सहकारी हस्तान्तरण गर्ने बेला आएको उल्लेख गर्नुभयो ।
यसक्रममा स्थानिय तहलाई आवश्यक स्थानिय नीति ऐन,नियमावली तथा कार्यविधि बनाउन सहयोगी भुमिका खेल्न उहाँले सहकारीहरुलाई आह्वान गर्नुभयो । उहाँले अबको दिनमा सहकारी स्थानियको जीवनसँग अझै निकट हुनेगरी त्यस किसिमका कार्यक्रमहरु बनाउनेतर्फ लाग्नुपर्ने पनि औंल्याउनुभयो ।
सहकारीका अध्यक्ष शेरबहादुर तामाङ्खले संस्थाले आफुसंग आवद्ध सदस्यहरुको आर्थिक विकास,सामाजिक रुपान्तरण,शैक्षिक तथा साँस्कृतिक प्रवद्र्धन गर्ने किसिमको वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दै रोजगारीको अवसरहरु सृजना गर्ने कार्यलाई अझै जोड दिने बताउनुभयोे ।
आफ्ना सदस्यहरुको सेवामा समर्पित रही सामाजिक क्षेत्रमा अझ बढी योगदान पुर्याई एक सवल सहकारी संस्थाको रुपमा स्थापित गर्न प्रयासरत रहने उहाँको प्रतिवद्धता छ ।
सभामा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदनहरु सार्वजनिक गरियो । संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित बजेट माथि छलफल गरि तिनको अनुमोदन समेत गरियो । साथै गत वर्षको एसईई परीक्षामा उतिर्ण भएका संस्थाका सदस्य तथा सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक(जिपिए) हासील गरेका दुई जनालाई व्यापिटल शैक्षिक सम्मान पत्र बाट सम्मानित पनि गरिएको संस्थाले जनाएको छ ।
हालसम्म २ हजार ९ सय ५५ शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी अघिल्लो आर्थिक वर्षभन्दा २७.५१ प्रतिशतले वृद्धि भई २ करोड ७९ लाख २४ हजार पुगेको सचिव फ्रेमबहादुर तामाङ्गले सार्वजनिक गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । साथै २३ करोड ६४ लाख ८१ हजार कर्जा लगानी गरिएको छ ।

















